
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुको सपनाको सहर भएको बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उनले यस्तो बताएका हुन् ।
‘सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो,’ शाक्यले भने, ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’
शाक्यले खुलामञ्चमा निशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
‘मेरो जानकारी अनुसार करीब आधा दर्जन संस्थाले त्यहाँ निशुल्क खाना खुवाइरहेका छन्,’ उनले भने, ‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले निशुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यन्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’
उनले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराए । उनले अहिले पनि श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गरे ।