सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।
‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ,’ सोमबार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने,‘सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ उनले हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
मन्त्री गुरुङले सूचना प्रविधिको विकासमा योगदान पु¥याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानको काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गरे ।