फूलहरूको पर्व तिहारका लागि रूपन्देहीको तिलोत्तमाका ९ जना महिलाले उत्पादन थालेको नमूना कृषि समूहले अहिले ५ हजार माला तयार गर्दैछ । गत वर्षबाट कृषि समूह गठन गरी पुष्प व्यवसायमा होमिएका महिलाहरूले तयार पारेको बगैँचामा फूलेर ढकमक्क भएका फूल टिपेर माला गाँस्न उनीहरू व्यस्त छन् ।
समूहकी अध्यक्ष नविना भण्डारी भन्छिन्, ‘गत वर्ष ६ कठ्ठा क्षेत्रमा फूल खेती गरेका थियौं । अहिले झण्डै दुई बिगाहा क्षेत्रमा फूल तयारी अवस्थामा छन् । अहिले ५ हजारभन्दा बढी तयारी माला बिक्री गरेर १० लाख आम्दामी गर्ने लक्ष्य छ । उनीहरूले एउटा तयारी मालालाई १५० देखि दुई सय रूपैयाँसम्ममा विक्री गर्दै आएका छन् ।
भण्डारीले थपिन्, ‘फूल तिहारलाई मात्र होइन । अहिले बाह्रै महिना विभिन्न शुभ कार्यका लागि प्रयोग हुन्छ, त्यसैले तिहारलक्षित तयारी फूल बिक्री गरेर बेमौसमी फूल पनि लगाउने तयारीमा छौं ।’
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार (दीपावली) आउन केही दिन मात्र बाँकी रहँदा भण्डारीसहितको टीमले फूल टिपेर माला गाँस्ने काम गरिरहेका छन् ।
चिसो ठाउँमा राख्दा एक सातासम्म पनि सयपत्री फूल बिग्रिँदैन । मखमली फूल धेरै समयसम्म पनि ओइलिँदैन ।
दाङको घोराही उप–महानगरपालिका वडा नम्बर– १४ का लोकेन्द्र रोकाले १८ कठ्ठामा जग्गामा लगाइएका मखमली र सयपत्री फूल तिहारको संघारमा टिपेर बुटवल, नेपालगञ्ज र काठमाडौं पठाउन थालेका छन् ।
‘यस वर्ष ढिलो तिहार भएकोले पनि बगैँचामा फूल पूरै फक्रिसकेका छन् । नओइलाउने मखमली बारीबाटै बिक्री शुरू भएको छ । सयपत्री पनि टिपेर विक्री गरिसकेको छु,’ रोकाले भने ।
रोका थप्छन्, ‘पुष्प व्यवसायमा भविष्य देखेर म विगत ७ वर्षदेखि यही क्षेत्रमा लागेको छु । आगामी दिनमा पनि यसलाई अझै बढाउँदै लैजान्छु । विदेशी फूल आयात रोक्न आफ्नो तर्फबाट लाग्छु ।’
रूपन्देहीकै सीता पाठक देउराली पुष्प उत्पादक संघ गठन गरी पुष्प व्यवसायमा लागेकी छन् । उनले यस वर्ष तिहारका लागि ३५० माला तयार गर्दैछिन् । त्यसका लागि धेरै ठाउँबाट उनलाई फूलको माग पनि आएको छ ।
‘यस वर्ष लामो वर्षा हुँदा पुष्प व्यवसायीले सोचेजस्तो फूल उत्पादन गर्न सकेनन् । धेरै क्षति पुर्यायो,’ सीताले भनिन् ।
रूपन्देहीकै देवी वाग्ले, पाल्पा माथागढीकी कल्पना नेपाली, बाँकेकी विष्णु चौधरीले पनि तिहारलाई लक्षित गरी फूल उत्पादन गरेका छन् ।
यस वर्ष तिहारका लागि भारतबाट फूल आयात नगर्ने भएको हुँदा नेपाली उत्पादनले नै पुर्याउने व्यवसायीहरू बताउँछन् ।
फूलको आयात रोक्न प्रदेश ५ का पुष्प व्यवसायीहरू कस्सिएका छन् । ढिलो गरी परेको यस वर्षको तिहारको संघारमा लुम्बिनी प्रदेश फूलमय बनेको छ ।
फूल खेतीलाई कम लगानी, थोरै जमिन र कम मेहनतमा छिटो आम्दानी गर्न सकिने व्यवसाय मानिन्छ । लुम्बिनी प्रदेशमा ८० प्रतिशत नेपाली उत्पादनले धान्ने व्यवसायीले बताए । पछिल्लो समय पुष्पखेतीतर्फ आर्कषण बढेको छ । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले पुष्प खेतीतर्फ कृषकको आकर्षण देखिएको हो ।
लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेले लुम्बिनी प्रदेशमा ८० प्रतिशत तिहारको माला स्वदेशी उत्पादनले धान्ने बताए ।
‘लुम्बिनी प्रदेशमा अहिले व्यावसायिक रूपमा पुष्प खेती गर्न थालिएको छ,’ पाण्डेले भने, ‘२० प्रतिशत प्लास्टिक र भारतीय माला प्रयोग हुन्छन्, बाँकी प्रदेशकै उत्पादनले धान्दै आएको छ ।’
लुम्बिनी प्रदेशमा ५ सयभन्दा बढी व्यवसायिक पुष्प व्यवसायी छन् ।
प्रदेश सरकारले पनि पुष्पखेती गर्ने किसानहरूलाई अनुदान दिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बरालीले प्रदेश सरकारले बुटवल, घोराही, नेपालगञ्ज वा कोहलपुरमा बिक्री केन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिइन् ।
प्रदेशमा फूलको माग पूरा गरी बाहिरबाट हुने आयात बन्द गर्न लुम्बिनी पुष्प व्यवसायी संघले योजना बनाएर पुष्पखेती बिस्तार गरिरहेको उनको भनाइ छ । नेपालमा भारतलगायत अन्य छिमेकी देशबाट फूलको आयात हुने गरेपनि सरकारले यसवर्ष तिहारमा बाहिरबाट फूल नल्याउने बताएको छ ।
प्रदेशका ६ पहाडी जिल्लामा खासै भारतीय मालाको प्रयोग नुहने भए पनि तराईका ६ जिल्लामा चाडपर्व, विभिन्न शुभकार्यका लागि भारतबाटै माला आउने गर्छन् । विगतका वर्षमा भारतबाट ५ लाख माला आउने गरेको भए पनि यस वर्षमा १ लाख मात्र माला भारतबाट आउने व्यवसायीहरूको आंकलन छ ।
मालाहरूको खपत पनि बढ्दै गएको छ । त्यस्तै प्रशस्त मठमन्दिर भएको, धार्मिक कार्य, मेला महोत्सव तथा सभा समारोहमा पनि मालाहरूको माग बढ्दो छ ।
भारतबाट आयात हुने फूल उपभोक्तासम्म आइपुग्दा महंगो हुने भएकाले पनि आफ्नो क्षेत्रमा फूलखेती गर्दा सस्तोमा उपलब्ध गराउन सकिने र स्वदेशको पैसा स्वदेशमा नै लगानी हुने भएकाले फूलखेतीको महत्त्व धेरै नै रहेको छ ।
चाडपर्वमा मात्र होइन यहाँ १२ महिना नै फूलको माग बढदै गएको छ ।