
काठमाडौं, ३० वैशाख — इन्डियन प्रिमियर लीग (आईपीएल) मा शनिवार सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई आठ विकेटले हराउँदै प्लेअफ्समा स्थान पक्का गरेको छ ।

प्लेअफमा पर्नका लागि आजको म्याच जित्नैपर्ने अवस्थामा रहेको हैदराबादमा लागि कप्तान डेभिड वार्नरले नटआउट ६९ र विजय शंकरले नटआउट ६३ रन बनाए ।
१५५ रनको लक्ष्य पछ्याएको हैदराबादले यी दुई ब्याट्स्म्यानको योगदानमा १८.२ ओभरमै लक्ष्य पूरा गरेको थियो ।
यसअघि ब्याटिङ गरेको गुजरातले १९.२ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनायो । इशान किशनको ६१ र ड्वेन स्मिथको ५४ रनका अलावा कुनै पनि ब्याट्स्म्यान क्रिजमा जम्न सकेनन् ।
१११ रनमा पहिलो विकेट गुमाएको गुजरात लगातार पतन हुँदै पूरा ओभर पनि नटिकी अलआउट भयो ।
हैदराबादका लागि मोहम्मदर सिराजले चार, राशिद खानले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए ।
आज हुने अर्को खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसो त यी दुवै प्लेअफमा पुगिसकेका छन् ।