
काठमाडौं, ३० वैशाख — लाइसेस्टर सिटीलाई २–१ गोलअन्तरले हराउँदै म्यानचेस्टर सिटी इंग्लिश प्रिमियर लीगको तेस्रो स्थानमा उक्लिएको छ ।

लाइसेस्टरका लागि रियाद माहरेजले अन्तिम समयमा गरेको पेनाल्टी गोल रेफ्री बबी म्याड्लीले अस्वीकार गरेपछि म्यानचेस्टर सिटी विजयी भएको हो ।
माहरेजलाई गाएल क्लिचीले लडाएपछि पेनाल्टीको अवसर प्राप्त भएको थियो । यो गोलमा परिणत हुँदा लाइसेस्टरले बराबरी गर्न पाउँथ्यो । तर स्पट किक लिने क्रममा माहरेज चिप्लिए र उनले बललाई दाहिने तथा देब्रे दुवै गोडाले हानेर गोल गरे ।
रेफ्री म्याड्लीले तत्कालै यो गोल अस्वीकृत गरिदिए र घरेलु टोली म्यानचेस्टर सिटीलाई फ्रीकिक दिए ।
म्यानचेस्टरले घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेर सहजै खेल जित्ने लक्षण देखाएको थियो । डेभिड सिल्भाले २९औं तथा गेब्रिएल जिससले पेनाल्टीमा ३६औं मिनेटमा गोल गरेका थिए । योहान बेनालोएनले लेरोए सानेलाई लडाएपछि म्यानचेस्टरले पेनाल्टीको मौका पाएको थियो ।
तर लाइसेस्टरका लागि ओकाजाकीले ४२औं मिनेटमा गोल फर्काए । त्यसपछि लाइसेस्टरले लगातार आक्रमण गरेपनि सफल हुन सकेन । माहरेजको सानो गल्तीका कारण लाइसेस्टर हार्न बाध्य भयो ।
त्यसो त चेल्सीले शुक्रवार नै प्रिमियर लीग जितिसकेको छ ।
बीबीसीबाट