
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जथाभावी पार्किङ गर्न नदिन कडाइ थालिएको छ । महानगरपालिकाले आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० वटा मोटरसाइकल र स्कुटरलाई कारबाहीमा गरेको छ ।
काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् ।
‘कोभिड–१९ कारण लकडाउनसँगै हामीले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरेका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले भने, ‘लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्था छ । यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान सुरु गरेका हौँ ।’
प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताए ।
काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपति सापकोटाले आज मात्रै ‘नो पार्किङ एरिया’ तथा फुटपाथमा पार्किङ गरेर राखिएका ३० वटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको जानकारी दिए । उनीहरुलाई कागजपत्र हेरेर १ हजार जरिवाना तिराउँदै आएको पनि उनले जानकारी दिए ।