
कोभिड–१९ विरुद्ध चीनमा विकसित गरिएको एक खोपको परीक्षणमा सफलता प्राप्त भएको अनुसन्धाताहरूले बताएका छन् ।
चीनमा कोभिडविरुद्ध अनेकौं खोपहरू विकसित गरिएका छन् र तीमध्ये कैयौं दिन पनि थालिसकिएको छ ।
सिनोभ्याक बायोटेकको खोपले ७०० जना मानिसमा तत्काल इम्युन रेस्पोन्स गराएको अनुसन्धाताहरूले बताए ।
युरोपका मुलुक र अमेरिकामा व्यापक संख्यामा मानिसहरूमाथि गरिएको परीक्षण सफल भएको खबरका बीच चीनबाट पनि आशाप्रद समाचार आएको हो ।
अमेरिका, जर्मनी र रुसमा विकसित तीन खोपहरूले ९० प्रतिशतभन्दा बढी प्रभावकारिताको दाबी गरेका छन् । दशौं हजार मानिसमा गरिएको परीक्षणले यसलाई पुष्टि गरेको छ ।
चीनमा चारवटा खोपको तेस्रो तथा अन्तिम परीक्षणको चरण चलिरहेको छ । त्यसमा सिनोभ्याक बायोटेकले बनाएको खोप पनि समावेश गरिएको छ ।
सिनोभ्याकको कोरोनाभ्याक खोपले तत्कालै इम्युन रेस्पोन्स गराएको बताइएको छ तर गत अप्रिल र मे महिनामा गरिएको अध्ययनले खोपको सफलता दरको प्रतिशत निर्धारण गरेको छैन ।
चीनमा महामारी लगभग पूर्ण नियन्त्रणमा आइसकेको अवस्थामा चारवटा चिनियाँ खोपहरूको अन्तिम चरणको परीक्षण पाकिस्तान, साउदी अरब, रुस, इन्डोनेसिया र ब्राजिलमा भइरहेको छ ।
अधिकारीहरूका अनुसार, लगभग ६० हजार मानिसहरूले नोभेम्बर महिनासम्ममा खोप पाइसकेका छन् ।
एकजना स्वयंसेवीको मृत्युपछि ब्राजिलमा सिनोभ्याक बायोटेकको खोपको परीक्षण अघिल्लो साता केही समयका लागि रोकिएको थियो तर पछि पुनः सुचारु गरिएको थियो ।
कम्तीमा तीनवटा खोपहरू स्वास्थ्यकर्मी तथा अन्य आकस्मिक कामका कामदारहरूलाई दिइन थालेको छ भने चिनियाँ सेनाका लागि जुन महिनामा एउटा खोपको अनुमति दिइसकिएको छ ।
फाइजर र बायोएनटेकको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको, मोडर्नाको खोपले ९५ प्रतिशत प्रभावकारिता देखाएको र रुसको खोपले ९२ प्रतिशत प्रभावकारिता देखाएको बताइएको छ ।
यी तीनैथरी खोपका अनुसन्धाताहरूले चिनियाँ खोपभन्दा एक चरणअघिका परीक्षण पूरा गरिसकेका छन् । तर सिनोभ्याक बायोटेकले पनि अन्तिम चरणको परीक्षण गरिसकेको छ । तर अन्तिम चरणको परीक्षणको आँकडा सार्वजनिक नगरेको भन्दैमा अन्य अनुसन्धाताहरू चीनको भन्दा अगाडि छन् भन्न मिल्दैन ।