
सिन्धुपाल्चोक, ३१ वैशाख–विहान सात बजेबाट सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।
मेलम्ची नगरपालिकाको वडा नम्बर ११ वागेश्वरी आधारभूत विद्यालय केन्द्र र इन्द्रावती गाउँपालिकाको भिमटारमा रहेको भिमेश्वर माविमा मतदान प्रक्रिया प्रभावित भएको हो ।
मेलम्ची नगरपालिकाको ११ नम्बर वडाको वागेश्वरी विद्यालयमा रहेको केन्द्रमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच विवाद भएको छ । विवादका कारण असामान्य बनेको अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको जनाएको छ ।
उता इन्द्रावती गाउँपालिकाको भिमटार भिमेश्वर माविमा अशक्त व्यक्तिहरुलाई लाइन नवसि भोट हाल्न दिने विषयमा विवाद भएपछि मतदान रोकिएको छ । मतदान रोकिएको दुवै स्थानमा पुनः मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको छ ।