
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकालले आफूले पढेर नभई परेर केही सिकेको बताएका छन् ।
महासंघको ५४ औं साधारणसभालाई सम्बोधन गर्दै ढकालले महासंघको साधारणसभा सारेर अहिले गरिएको सन्दर्भमा आफ्नो भनाई राखेका हुन् ।
उनले महासंघले अहिले साधारणसभा गर्दा चैतमा भन्दा धेरै जोखिम भइरहेको बताउँदै चैतमै साधारण सभा गर्न आफ्नो जोड रहेको स्मरण गराए ।
उनले भने, हामीले सुन्ने गरेका छौं, मानिस पढेर भन्दा परेर जान्ने हुन्छ भन्ने उखान । त्यस्तै म पनि पढेर नभई परेर केही सिकेको अनुभव गर्छु । साधारणसभा चैतमै गरेको भए अहिलेकोभन्दा जोखिम कम हुने थियो ।
कार्यक्रममा अर्का प्रत्यासी किशोर प्रधानले आफू जेठो पनि भएकाले आफ्नो शुरुमा पालो आउनु पर्ने तर्कमा पनि ढकालले तिखो टिप्पणी गरे । ढकालले महासंघको निर्वाचनमा सिनियर हुँदैमा नेतृत्व दिनुपर्छ भन्नेमा मैले विश्वास नगर्ने बताए ।
उनले निर्वाचनमा भइरहेको अस्वस्थ प्रतिष्पर्धामा समेत असन्तुष्टि व्यक्त गरे ।
‘महासंघमा हुने निर्वाचनले व्यवसायिक सफलता र असफलतासँग नजोडिने भन्दै उनले निर्वाचनमा नैतिक सीमालाई नभत्काएको भए राम्रो हुन्थ्यो,’ उनले भने ।
उनले आफूले बनाएको टीम सन्तुलित भएको बताए । भौगोलिक र व्यवसायिकरुपमा पनि निकै सन्तुलित टीम भएको उनले तर्क गरे । उनले प्यानलमा भएका चार जनाको टीममा ठूला करदाता समेत भएको बताए । साथै सरकारले गर्ने सीपाइपी सम्मानबाट समेत सम्मानित भएको बताए ।