
रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानलाई निकुञ्जका जनावरले हैरानी दिने गरेका छन् । अन्नबाली मात्रै होइन, पशु वस्तु पनि निकुञ्जका जनावरले खाइदिने गरेका छन् । अहिले छाँयानाथ रारा नगरपालिका–८ झ्यारी गाउँका किसानलाई भालुले हैरानी दिएको छ ।
दैनिक भेडी गोठमा पसेर भालुले भेडा मार्न थालेपछि किसानले स्थानीय प्रशासनसँग गुहार मागेका छन् । शुक्रबार राति झ्यारी गाउँका कृषक कृषक रमेश रावलका आठ वटा भेडा भालुले मारेका छ । खर्क रहेको चुल्ठीमा हिमाली भालु पसेर भेडा मारेको छ भने भेडा हेर्ने कुकुर बेपत्ता रहेको रावलले जानकारी दिए ।
सोही ठाउँका भेडा पालक पदम रावलका २४ र घुघुरे कामीका पाँचगरी २९ भेडालाई पनि खोरमै पसेर भालुले मारेको छ । गत वर्ष पनि भालुले गाउँलेका १५ भेडाबाख्रा मारेको वडा अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
विगत वर्षहरुमा निकुञ्जले पीडित कृषकहरुलाई क्षतीपूर्ती दिने गरे पनि यो वर्ष नदिने भनेकाले आफूहरु समस्यामा रहेको कृषकले बताएका छन् । पीडित कृषकहरूको क्षतिपूर्तिका लागि वडा र नगरपालिकाबाट सिफारिस गरेर निकुञ्जलाई क्षतीपूर्ती उपलब्ध गराउन पहल गर्ने वडा अध्यक्ष रावलले जनाए ।
एक सय ३२ घरधुरी रहेको यो गाउँका अधिकांश स्थानीयहरुको प्रमुख आयको स्रोत भेडा पालन भएपनि बेला बेलामा निकुञ्जको जंगलबाट निस्कने भालु र बाघले भेडाबाख्रा खाने र मार्ने गरेपछि रोजीरोटी गुमेको कृषकहरु बताउँछन् ।