
(काठमाडौं) - आठ महिनाका बीचमा मुलुकमा दुई घटना बाघ अनुसन्धानकर्ताका लागि अनौठा भए । वैशाख १ गते डडेलधुराको २ हजार ५ सय मिटर उचाइको भागेश्वर जैविक मार्गमा ट्र्यापिङ क्यामरामा पाटेबाघको फोटो कैद भयो ।
मंसिर अन्तिम साता पूर्वी नेपालस्थित इलामको ३ हजार १ सय ६५ मिटर उचाइको सन्दकपुर क्षेत्रमा फेरि त्यस्तै क्यामराले पाटेबाघको फोटो खिच्यो । अगाडि हिँड्नेको पदचापको चालमा ट्र्यापिङ क्यामराले फोटो खिच्नु अनौठो थिएन । यति धेरै उचाइका क्षेत्रमा पाटेबाघ देखिनु अनुसन्धानकर्ताका लागि अपत्यारिलो घटना थियो । यसअघि यति उचाइमा यो जन्तु देखिएको थिएन ।
नेपालमा बारास्थित पर्सा निकुञ्जबाट पूर्वमा विगतमा पाटेबाघ फेला परेको थिएन । ‘उपयुक्त बासस्थान र पर्याप्त आहार पाएकाले तलबाट मध्यपहाड र महाभारतको जंगलमा बाघ सिफ्ट भएको हुन सक्छ,’ काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सका वरिष्ठ वैज्ञानिक तथा सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपालका अध्यक्ष प्रकाशकुमार पौडेलको विश्लेषण छ, ‘यसले मध्यपहाड क्षेत्रमा विस्तृत अध्ययन आवश्यक छ र तलदेखि माथिल्लो क्षेत्रसम्मै संरक्षण संयन्त्र बनाउनु जरुरी भएको संकेत गरेको छ ।’
तल्लो क्षेत्रमा आहार र बासस्थानलगायतका लागि हुने अत्यधिक द्वन्द्व र भारवहन क्षमता (क्यारिङ क्यापासिटी) नभएर पनि माथिल्लो क्षेत्रतिर बाघ सर्दै गएको हुन सक्ने उनी बताउँछन् । ‘जलवायु परिवर्तनलगायत कारण पनि कतिपय वन्यजन्तुले बासस्थान बदल्ने र सर्ने गरेको देखिन्छ,’ उनी भन्छन्, ‘त्यसबारे अलि विस्तृतमा अनुसन्धान आवश्यक छ ।’ प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख बाबुराम लामिछाने पहाडमा बाघ भेटिनु नौलो नभए पनि महाभारतको पश्चिम डडेलधुरा र पूर्वको इलामको उचाइमा भेटिनु नौलो घटना भएको बताउँछन् । ‘आहार उपलब्ध भएमा बाघ ४ हजार मिटरभन्दा माथि पनि रहन सक्छन्,’ उनले भने ।
वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर जडान गरिएका १० वटा हाब्रे (रेडपान्डा) अनुगमन गर्न राखिएको २० वटा स्वचालित क्यामरामध्ये एउटा क्यामरामा पाटेबाघ कैद भएको हो । ‘कात्तिक २८ र मंसिर ६ गते इलाममा बाघ कैद भएको देखिन्छ,’ खड्काले भने, ‘पूर्वमा बाघ भेटिएको यो पहिलो पटक हो । नेपालमा पहिले यो उचाइमा बाघ देखिएको थिएन ।’ कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।