०७ साउन २०८३, बिहीबार

कसैले चाहँदैमा नेकपा फुट्दैन, विवाद आन्तरिक रूपमै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

मंसिर ३०, २०७७
कसैले चाहँदैमा नेकपा फुट्दैन, विवाद आन्तरिक रूपमै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले पार्टीभित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थितरतातिर धकेल्ने प्रयास भएपनि त्यो सफल नहुने बताएका छन् ।

बुटवलस्थित कान्ति माविमा निर्माण हुन लागेको शैक्षिक तथा छात्रावास भवनको मंगलबार शिलान्यास गर्दै उनले नेकपाभित्र अहिले देखिएका समस्यामा विग्रहको खोजी गर्नेहरू विफल हुने दाबी गरे ।

उनले नेकपाभित्रको अन्तरिक विवाद आन्तरिक रूपमै समाधान हुने पनि बताए ।  

‘कसैले नेकपा फुटोस् भन्ने चाहँदैमा पार्टी फुट्दैन, पार्टीमा विवाद आउनु र त्यसको समाधान हुँदै जानु नियमित प्रक्रिया हो ।’ 

पार्टीभित्रको अन्तरिक द्वन्द्वले सरकारको भविश्यमाथि कुनै असर नपुर्‍याउने उनले स्पष्ट पारे ।

पौडेलले थपे, ‘विग्रह ल्याउने र एकतामा भाँजो हालेर ठूलो भाग खाउँला भनेर सपना देख्नेहरूले त्यता नसोचे पनि हुन्छ ।’

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशको होइन देशकै केन्द्र बन्ने प्रक्रियामा रहेको बताए ।

दश वर्ष अगाडि भन्दा अहिले बुटवलको विकास तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उनले अबको दश वर्षभित्रमा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, शिक्षा र पर्यटनको केन्द्र बन्ने दाबी गरे । 

उनले बुटवल सांघुरिएकाले यसको सुन्दरतालाई बचाइराख्न छिमेकी पालिकालाई समेट्दै बहुतले र व्यावसायिक भवन निर्माणमा जान आग्रह गरे । 

केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब बुटवलवासीले बिग्रिएको बुटवलको अनुहार हेरेर बस्न नसक्ने र सडक विस्तारको काम अगाडि बढ्ने बताए ।

उनले सरकारले व्यक्तिको जग्गा अनधिकृत रूपमा कब्जा नगर्ने तर विकास निर्माणमा अवरोध गरिए प्रयिक्रयागत रूपमा हटाएर भएपनि विकास आयोजना अगाडि बढाउने बताए । 

अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरू भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरूलाई आग्रह गरे । 

निर्माणाधीन विकास आयोजनाको गुणस्तर र समयमा कुनै सम्झौता नगर्न पनि उनले निर्माण कम्पनीलाई आग्रह गरे ।

त्यसअघि अर्थमन्त्री पौडेलले होराइजन चोकदेखि कालिकापथसम्मको निर्माणाधीन भित्री सडकको अनुगमन समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्