अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत रिक्त संवैधानिक आयोगमा नियुक्ति सिफारिशका लागि संवैधानिक परिषद्को बैठक मंगलवार साझ बस्दैछ ।
बिहान बसेको बैठकमा कोरम नपुगेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साझ ५ बजेका लागि परिषद्को बैठक बोलाइएको छ ।
कोरम पुग्न नसकेपछि सरकारले परिषद्को काम कारवाहीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार नै सो अध्यादेश जारी गरिसकेकी छन् ।
अध्यादेश जारी भएपछि साँझ ५ बजे बस्ने बैठकमा परिषद्का सदस्य एवं प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
अध्यादेशबाट शासन चलाउने कामको विरोध गर्दै आइरहेको भन्दै देउवा बैठकमा सहभागी नहुने भएका उनी निकट एक नेताले जानकारी दिए ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले अध्यादेशलाई सर्वसत्तावादी भन्दै खारेजीको माग गरेका छन् ।
परिषद्का अर्का सदस्य सभामुख अग्नि सापकोटा साँझको बैठकमा पनि सहभागी नहुने भएका छन् । उनी अनुपस्थित हुँदा बिहानको बैठकमा कोरम पुगेको थिएन ।
प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।
परिषद्मा उपसभामुख समेत सदस्य रहने व्यवस्था भएपनि अहिले सो पद खाली छ ।
बिहानको बैठकमा ओली र देउवाका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना उपस्थित थिए ।