
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो दिनको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो १ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक ४ बजे शुरू भएको हो ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
गत मंसिर २१ गते शुरू भएको स्थायी कमिटी बैठक मंसिर २८ गते केन्द्रीय सदस्य कमानसिंह लामाप्रति शोक प्रस्ताव पारित गरेर सकिएको थियो ।
मंसिर २१ गतेको बैठकका उपस्थित नभएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंसिर २८ गतेको बैठकमा उपस्थित भएका थिए । बुधवारको बैठकअघि प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो ।
नेकपा सचिवालय बैठक अनिर्णित रहेको समयमा स्थायी कमिटी बैठक शुरू भएको हो । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।
मंसिर १३ गतेको बैठकमा ओलीले प्रचण्डलाई जवाफ पठाएपछि विवाद जटिल मोडमा पुगेको ठानिएको छ । स्थायी कमिटी बैठकपछि पुस ५ गतेदेखि नेकपाको केन्द्रीय कमिटी बस्ने तोकिएको छ ।