
मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले सहयोगापेक्षी सडकमानवहरुको उद्धारको लागि मेची महाकाली यात्रा गर्ने भएको हो । आज राजधानीमा प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा यसको घोषणा गरिएको हो ।
पूर्वपश्चिम राजमार्गका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक मानवहरूको संख्या धेरै रहेकोले यो कार्यक्रमको गर्न लागिएको मानवसेवा आश्रमका सचिव एवं प्रवक्ता सुमन बर्तौलाले बताए ।
यसअघि नेपाललाई २०८२ सालसम्म सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्दै घोषणा गर्ने उद्धेश्य रहेपनि नेपाल सरकार र मानवसेवा आश्रमको उद्धेश्यका समानता देखिएको हुनाले उक्त लक्ष्यलाई २०७८ सालको अन्तिमसम्ममा निर्माण गरि घोषणा गर्ने गरि अगाडी बढिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत आजदेखि ७ गतेसम्म एक हप्ता काठमाण्डौ उपत्यका भित्र रहेका १०० जना वास्तविक सहयोगापेक्षी मानवहरुको उद्धार गर्ने र त्यसपछि पौष ८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट मेची महाकाली यात्राको घोषणा गर्ने जानकारी गराइएको छ ।
कार्यक्रम पौष ७ गतेदेखि माघ ७ गतेसम्म हुनेछ ।