२१ जेठ २०८३, बिहीबार

मानव विकास सूचकाङ्कमा नेपालको फड्को, १४७ बाट १४२ औं स्थानमा आइपुग्यो

पुस २, २०७७
मानव विकास सूचकाङ्कमा नेपालको फड्को, १४७ बाट १४२ औं स्थानमा आइपुग्यो

मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल १४२औंँ स्थानमा आएको छ ।

यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ ।  अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो । तर राष्ट्रिय योजना आयोग र यूएनडीपीकै सहकार्यमा मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो ।

दक्षिण एसियाली मुलुकमा नेपाल छैटाँैं स्थानमा छ । सबैभन्दा अगाडि श्रीलङ्का ७२औँ स्थानमा छ । त्यसपछि माल्दिभ्स ९५औँ, भुटान १२९औँ, भारत १३१औँ र बङ्गलादेश १३३औँ स्थानमा छन् । नेपालपछि पाकिस्तान १५४औँ र अफगानिस्तान १६९औँ स्थानमा छन् । प्रतिवेदनमा १८९ देश समावेश छन् ।

प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष आठ महिना पुगेको छ । विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ ।

बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९.९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।

कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी तीन हजार ४५७ डलर पुगेको देखाइएको छ । सन् २०१७ लाई आधार मानेर निर्धारण गरिएको यस्तो आय सम्बन्धित देशका उपभोक्ताको खरिद क्षमतालाई विश्लेषण गरेर निक्र्योल गरिन्छ । मुद्रास्फीति नियन्त्रणमा रहेका देशहरूमा प्रतिव्यक्ति आयको तीन गुणासम्म यस्तो आम्दानी बढ्ने पाइएको छ । गोरखापत्र दैनिकमा विश्वास रेग्मी  र चाँदनी हमालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्