
सरकारको नेतृत्वकर्ता दल नेकपाभित्र भइरहेको राजनीतिक खिचातानीप्रति राप्रपा अध्यक्ष कमल थापाले व्यंग्य गरेका छन् ।
नेकपाभित्र भइरहेको गाईजात्राले राजतन्त्र पक्षधरलाई समेत लाज लाग्ने अवस्था आएको उनको टिप्पणी छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै थापाले हिमालय पर्वत जस्तो व्यक्तित्व खिया लागेर धुलिसात भएको टिप्पणी गरे ।
‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् । हामी जस्ता राजसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोेस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्,’ थापाले ट्विटरमा लेखेका छन् ।