
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेकपा १ नम्बर वडाले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुँदा जनताले खबरदारी गर्दै भने, ‘खबरदार पार्टी फुटाउन पाइँदैन । पार्टी फुटे अपार जनताको मन रुन्छ । त्यसैले पार्टी फुटमा होइन, जुटेरै अघि बढ्नुपर्छ ।’
मन्त्री श्रेष्ठलाई पार्टी एकताबद्ध रूपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साख जोगाउन आग्रह गरे ।
कार्यक्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, कुनै पनि हालतमा पार्टी फुट्दैन, हामी फुट्न पनि दिदैनौं ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूरै अवधि टिक्ने बताए ।
उनले जनताको चाहना अनुसार विकास निर्माणको कामले तीव्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए ।
‘मैले तपाईंहरूले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पुर्याउने छु,’ मन्त्री श्रेष्ठले भने, ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौं ।’ उनले सरकार र पार्टीबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै त्यसो हुन गए कार्यकर्ताले खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडाको विकासका योजनाबारे जानकारी गराएका थिए ।
उनले अबको समय विकास निर्माणको समय भएको बताउँदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, ‘अहिलेको सरकारले विकासको कामलाई तीब्रता दिएको छ, यसलाई निरन्तर रूपमा अघि बढाउनुपर्छ ।’
स्थानीय तहका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।