
सरकारले पहिलो पटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बिहीवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा नीति सार्वजनिक गरे ।
जलस्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिँचाइ, विद्युत्, जल उत्पन्न विपद व्यवस्थापनका फरक–फरक नीति भए पनि एकीकृत नीति थिएन । मन्त्री पुनले सार्वजनिक गरेको नीतिका ७ उद्देश्य छन् । नीतिमा ११ वटा रणनीति समेटिएका छन् । २० पृष्ठ लामो नीतिले जलस्रोतको बहुआयामिक तथा दीगो विकास र बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको मूल उद्देश्य लिएको छ ।
जलस्रोतको अध्ययन, अनुसन्धान, बहुउद्देश्यीय उपयोग, विकास, व्यवस्थापन, नियमन र संरक्षणलाई नीतिले उच्च प्राथमिकतामा राखेको छ । नीतिले राष्ट्रिय जल उपयोगको बहुआयामिक आवश्यकताहरुको सहज आपूर्तिका लागि समुचित प्रयोग गर्ने, जथलश्रोतको बहुआयामिक तथा समन्यायिक विकास र उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पुर्याउने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र नियमन गर्दा अध्ययन, अनुसन्धान, तथ्य एवं प्रमाणका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने, संघ प्रदेश र स्थानीय तहको समन्वयमा जलस्रोतको संरक्षण, विकास तथा उपयोग हुने व्यवस्था गर्ने लक्ष्य लिएको छ ।
नीतिका अन्य उद्देश्यमा नागरिकको आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने जलस्रोतजन्य सेवा सुविधा सहज, सुलभ, सुपथ र समन्यायिक तवरले उपलब्ध हुने गरी जलस्रोत क्षेत्रको विकास गर्ने, आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा पर्नसक्ने नकारात्मक प्रभाव न्यून हुने गरी जलस्रोतको विकास र उपयोगको व्यवस्था मिलाउने र जल उत्पन्न विपदको न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने पनि नीतिका लक्ष्य छन् ।
नीतिमा जलस्रोत क्षेत्रको अध्ययन, अनुसन्धान, तथ्यांक संकलन, विश्लेषण, अभिलेखीकरण, नियमन तथा संरक्षणको काम जल तथा ऊर्जा आयोगले गर्ने व्यवस्था गरेको छ । आवश्यकता अनुसार जलस्रोतको उपयोग, विकास, व्यवस्थापन तथा संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा समेत निकायहरू स्थापना गर्न सकिने बाटो नीतिले खोलिदिएको छ । विकास आयोजनाको निर्माण गर्दा जलस्रोतको संरक्षण गर्नुपर्नेमा नीतिले जोड दिएको छ ।
नीतिमा जलस्रोतका अति महत्त्वपूर्ण तथा संवेदनशील क्षेत्रलाई जलस्रोत संरक्षित क्षेत्र घोषणा गरिने उल्लेख छ । मुलुकमा उपलब्ध तातोपानीका मूलको पहिचान गरी त्यसको बहुउद्देश्यीय उपयोग गर्ने विषय पनि नीतिमा छ । प्रमुख नदीहरुबाट जल यातायातको माध्यमबाट समुद्रसम्म पहुँचको व्यवस्था गर्न छिमेकी मुलुकसँगको सहकार्यमा नीतिले जोड दिएको छ । प्रमुख नदीहरुमा पहिचान भएको बहुउद्देश्यीय आयोजनाको अवयवका रुपमा जल यातायातसमेत समावेश गरिने नीतिमा छ ।
जलस्रोतको उपयोग एवं व्यवस्थापन गर्दा एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणा अनुसार खानेपानी, सिँचाइ, विद्युत्, पर्यटन, जल यातायात, उद्योृग, मत्स्य पालनजस्ता बहुउद्देश्यीय आयोजनाहरुलाई प्राथमिकता दिने नीतिको लक्ष्य छ । नीतिमा कृषि योग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने, सर्वसुलभ रुपमा खानेपानी सेवा उपलब्ध हुने, वर्षा र सुख्खा यामबीचको जलविद्युत उत्पादन क्षमताको भिन्नतालाई कम गर्ने, बाढी विपदलाई न्यूनीकरण गर्ने, औद्योगिक प्रयोजन, मत्स्यपालन, नौकाबिहार जस्ता जलक्रिडा लगायतका अन्य प्रयोजनका लागि वर्षैभरि पानी उपलब्ध गराउने, बहुउद्देश्यीय जलासययुक्त तथा अन्तर जलाधार जलस्तान्तरण आयोजनाको विकासलाई प्राथमिकता दिने भनिएको छ ।
एक स्थानको पानी आवश्यकता अनुसार अर्को स्थानमा लगेर प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ । नीतिले प्रत्येक नदी बेसिनमा रहेको जलस्रोतको उपलब्धता, परिणाम, गुणस्तर, विद्यमान उपयोग, भावी आवश्यकता र आपूर्तिको स्थितिसम्बन्धी विवरण तथा तथ्यांक तयार गरी अध्यावधिक गर्ने उद्देश्य लिएको छ । प्रत्येक नदी बेसिनको जलस्रोतमा भइरहेको दोहन तथा प्रदूषण । खोलानाला तथा तालतलैयाहरुको आकृतिमा परिरहेको असरसम्बन्धी विवरण तथा तथ्यांक तयार गरी अद्यावधिक गर्ने नीतिको उद्देश्य छ ।
जलस्रोतका सम्पूर्ण विवरण तथा तथ्यांक विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने भएको छ । नीतिको मस्यौदा तयार पार्नुअघि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिव, स्थानीय जनप्रतिनिधि, जलस्रोतका क्षेत्रमा काम गर्ने विज्ञ तथा संघीय संसदको कृषि तथा प्राकृतिक स्रोतसाधन समिति तथा जलस्रोतसँग सरोकार राख्ने सरकारका विभिन्न मन्त्रालयसँग सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा मन्त्री पुनले पानीको उपयोग, संरक्षण, नियन्त्रण र नियमनसम्बन्धी एकीकृत नीतिको अभाव रहेकाले जलस्रोत नीति ल्याइएको बताए । जलस्रोतको उपयोग तथा संरक्षण गरी भावी सन्ततिलाई हस्तान्तरण गर्ने उद्देश्य नीतिले लिएको जानकारी उनले दिए ।
नीतिले सुखी नेपाली, समृद्ध नेपालको सरकारको अभियानमा सघाउने विश्वास मन्त्री पुनको छ । संविधानले व्यवस्था गरेका ३ वटै सरकारले उपयोग गर्ने र ३ वटै सरकारले संरक्षण गर्ने विषयलाई नीतिले जोड दिएको उल्लेख गरे । ‘जलस्रोत नीतिले पानीको उपलब्धताअनुसार एकीकृत रूपमा दीगो उपयोग र संरक्षण गर्ने मात्र होइन सुरक्षित रुपले भावी सन्ततिलाई हस्तान्तरण गर्ने सिद्दान्त नीतिले अंगीकार गरेको छ,’ मन्त्री पुनले भने ।
नीतिअनुसार अबदेखि पानीको उपयोग गर्नेले नै संरक्षणको दायित्व निर्वाह गनुपर्ने स्पष्ट व्यवस्था गरिएको उनले चर्चा गरे । सबैको सहमतिमा ल्लयाइएकाले नीतिले संघीयता अनुसार संघ, प्रदेश, अन्तर प्रदेश तथा स्थानीय तहबीच पानीको स्रोत बाँडफाँटमा देखिन सक्ने सम्भाव्य विवादको बाटोसमेत बन्द भएको विश्वाससमेत मन्त्री पुनले व्यक्त गरे ।
जल तथा ऊर्जा आयोगका सचिव सागरकुमार राईले वातावरणीय, सामाजिक र सांस्कृतिक सन्तुलन नखल्बल्याउने गरी पानीको प्रयोग गर्ने विषय नीतिमा समेटिएको जानकारी दिए । नीतिले जलस्रोतको उपयोग गरी मुलुकलाई कसरी समृद्ध बनाउने भन्नेबारे स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सचिव राईको भनाइ थियो ।