३१ जेठ २०८३, आइतबार

मालपोतका प्रमुखसहित ४ जनाविरुद्ध घुस लिएको आरोपपत्र दायर

मालपोतका प्रमुखसहित ४ जनाविरुद्ध घुस लिएको आरोपपत्र दायर

दाङको मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख मालपोत अधिकृत नरेशकुमार खड्कासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ३ लाख २० हजार बिगो कायम गरी भ्रष्टाचार गरेको आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

अख्यिारका प्रवक्ता तारानाथ अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्र दायर गरिएकोबारे जानकारी गराएका छन् ।

मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका नायवसुब्बा केशवराज अधिकारी, मोठफाँटका सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले मिलेमतो गरी सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

‘मालपोत कार्यालय, तुलसीपुर दाङका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुसररिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरु पुष्पराज गिरी र मिनराज गैरेलाई सेवाग्राहीबाट ३,२०,०००।– (तीन लाख बीस हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो,’ प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्