०३ असार २०८३, बुधबार

'उमेर अंक मात्र हो’

पुस ३, २०७७
'उमेर अंक मात्र हो’

‘तिमीहरू उमेरतिर नजाऊ,’ डेव ह्वाटमोरले नेपालको प्रशिक्षक बन्नका लागि दिएको भर्चुअल अन्तर्वार्तामा हाँस्दै भनेको पहिलो वाक्य यही हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सेप्टेम्बर ३ मा नेपालको प्रशिक्षक बन्न आवेदन खोलेको थियो । त्यही आधारमा ७२ जनाले नेपालको प्रशिक्षक बन्न आवेदन दिएका थिए । त्यसमा एक उनै ह्वाटमोर थिए । ह्वाटमोर उमेरले ६६ वर्षका भइसकेका छन् । तर क्यानले प्रशिक्षकका लागि तोकेको उमेर हदबन्दीमा ६० वर्षमुनिको हुनुपर्ने जनाइएको थियो । नेपालको प्रशिक्षक बन्न छानिएका अन्तिम १२ को अन्तर्वार्ताको क्रममा ह्वाटमोर नेपाली पदाधिकारीहरूलाई जिस्किँदै उमेरतर्फ ध्यान नदेऊ भनिरहेका थिए ।

ह्वाटमोरको भनाइ थियो उमेर एउटा गणना हुने अंक मात्र हो । उनै ह्वाटमोरलाई क्यानले बिहीबार नेपालको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

धेरै छलफलपछि हामीले मुख्य प्रशिक्षक सर्वसम्मत चयन गरेका छौं । हामीले ह्वाटमोरबाट धेरै आशा गरेका छौं,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘नेपालको सम्भावना राम्रो छ भनेर उनले काम गर्ने इच्छा देखाएका छन् ।’ ६० वर्षमुनि हुनुपर्ने तोकिए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट ह्वाटमोरको स्वीकृति लिइसकेको चन्दले जनाए । अन्तर्वार्ताका क्रममा एउटा प्रशिक्षकलाई आफ्नो कार्यक्रम राख्न र बोल्न २० मिनेटको समय तोकिएको थियो । चन्दका अनुसार ह्वाटमोर उत्साहित भएर २५ मिनेटसम्म आफ्नो भनाइ राखिरहेका थिए ।

ह्वाटमोर नेपाल आउन लागेका सबैभन्दा ‘हाइप्रोफाइल’ प्रशिक्षक हुन् । उनकै ‘मास्टर माइन्ड’ मा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो । त्यसबाहेक उनी पाकिस्तान, बंगलादेश, जिम्बावे र सिंगापुरको प्रशिक्षक भए । पछिल्लो समय उनी सिंगापुरका प्रशिक्षक थिए । उनले १९९६ देखि २०१६ सम्म गरी श्रीलंका, पाकिस्तान, बंगलादेश र जिम्बावेबाट गरी ८७ टेस्ट र ३ सय १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रशिक्षण गरेका थिए ।
उनकै प्रशिक्षणमा केरला सन् २०१७–१८ को रणजी ट्रफीमा क्वाटरफाइनल र २०१८–१९ मा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि केरला कहिल्यै त्यो स्थितिमा पुगेको थिएन । ह्वाटमोर २०१० र २०११ मा इन्डियन प्रिमियर लिगमा कोलकाता नाइड राइडर्सको प्रशिक्षक थिए । सन् २००७ मा उनी भारतको प्रशिक्षक बन्नेक्रममा नजिक पुगेका थिए ।

उनी नेपाल आउन लागेका दोस्रो अस्ट्रेलियन प्रशिक्षक हुन् । सन् १९९८ मा काठमाडौंमा भएको दोस्रो एसीसी ट्रफीमा अस्ट्रेलियाका ब्रायन बिगिनले नेपाली टोली सम्हालेका थिए । श्रीलंकाको कोलम्बोमा जन्मिएका
ह्वाटमोर त्यति सफल खेलाडी रहेनन् । उनले अस्ट्रेलियाबाट ७ टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । टेस्टमा उनले दुई अर्धशतक बनाएका छन् ।

ह्वाटमोरले नेपालको प्रशिक्षक भएवापत ८ देखि १२ हजार डलर मासिक पारिश्रमिक पाउनेछन् । करसहितको त्यो रकम ह्वाटमोर नेपाल आएर बस्दाको अन्य सुविधासहित रहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारले यसअघि नेपाल क्रिकेटको विदेशी प्रशिक्षकको मासिक १० हजार डलरबराबरको पारिश्रमिक बेहोर्दै आएको थियो ।

काठमाडौंमा फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग २ पछि भारतका उमेश पटवालले राजीनामा दिएयता नेपालको प्रमुख प्रशिक्षक पद रिक्त रहँदै आएको थियो । त्यसयता क्यानले नेपालका जगत टमाटालाई जिम्मेवारी दिएको थियो । ह्वाटमोर जनवरी १ देखि मुख्य प्रशिक्षकको पद सम्हाल्ने क्यानले जनाएको छ ।

उनी २०१७ को जनवरीमा यसअघि नै नेपाल आइसकेका थिए । उनलाई ब्याट एन्ड बल फाउन्डेसनले कोचिङ क्लिनिकका लागि नेपाल ल्याएको थियो । एक साताको त्यस कार्यक्रममा उनले नेपाली राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई पनि प्रशिक्षण दिएका थिए । ह्वाटमोरले आफ्ना हाइप्रोफाइल म्यानेजर कौस्तभ लाहिरीमार्फत क्यानको विज्ञप्तिमा भनेका छन्, ‘डेव नयाँ चुनौतीका लागि निकै उत्साही छन् । उनले नेपाली क्रिकेटमा केही राम्रो प्रतिभा रहेका विश्वास लिएका छन् र उज्ज्वल भविष्य देखेका छन् ।’

क्यानको प्रशिक्षक बन्न आवेदन दिएकामध्येमा पुबुदु दासानायके पनि थिए, जसले नेपाललाई सन् २०१४ मा विश्व ट्वान्टी–२० खेलाएको थियो । विगतमा आफूहरूलाई अख्तियार पुर्‍याएको भनेर क्यान पदाधिकारीले दासानायकेलाई वास्ता गरेनन् । भारतका अपूर्व देशाईलाई बलियो दाबेदारको रूपमा हेरिएको थियो । सबै सहमत भए पनि अन्तिम समयमा देशाई र क्यानको फरक धारणा बनेपछि ह्वाटमोरलाई क्यानले लिएको थियो । देशाईलाई क्यानले वैकल्पिकमा राखेको छ ।  

म्यानेजरद्वयमा मल्ल र दास
क्यानले प्रशिक्षकबाहेक जनरल म्यानेजर (जीएम), क्रिकेट म्यानेजर (सीएम) र चिफ फाइनान्स अफिसर (सीएफओ) पनि नियुक्त गरेको छ । जीएममा रौनकबहादुर मल्ल, सीएममा विनोद दास र सीएफओमा रमेशकुमार न्यौपानेलाई चयन गरेको छ ।
राष्ट्रिय स्तरका खेलाडी मल्ल दुई वर्षअघि पोखरा प्रिमियर लिग (पीपीएल) मा लजिस्टिक म्यानेजर थिए । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान दासले विगतमा एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा निर्देशकको भूमिका निभाइसकेका छन् ।  कान्तिपुर दैनिकमा विनोद पाण्डेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्