
नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यलाई सम्मान गरेको छ ।
सो अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपाल उद्योग वाणिज्य महासङ्घका विगतका नेतृत्वले निर्माण व्यवसायीका समस्या समाधान गर्न नसकेको गुनासो गरे । “निजी क्षेत्रमाथि चारैतिरबाट औँला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका सङ्घ संस्थाबीच सहकार्यको विकल्प छैन” उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए । महासङ्घलाई अझ सुदृढ संस्थाका रुपमा विकास गर्न “भिजन पेपर” निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासङ्घको वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए ।
महासङ्घका महासचिव रोशन दाहालले महासङ्घको संक्षिप्त चिनारी प्रस्तुत गर्दै पूर्वाधार विकासको क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।