१० साउन २०८३, आइतबार

प्रचण्ड–नेपालपक्षीय स्थायी कमिटीको निर्णय– ओलीविरुद्ध अनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय कमिटीमा लगिने

प्रचण्ड–नेपालपक्षीय स्थायी कमिटीको निर्णय– ओलीविरुद्ध अनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय कमिटीमा लगिने

संसद् विघटन गरेर पार्टी हितविपरीतको काम गरेको भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अनुशासनको कारवाही गर्न केन्द्रीय समितिमा सिफारिश गर्ने निर्णय गरेको छ ।

ओली–पक्षको अनुपस्थितिमै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीविरुद्ध अनुशासनको कारवाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कमिटीको बैठक पुस ७ गतेका लागि बोलाइएको उनले बताए । प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको निर्णय अमान्य भन्दै कानूनी उपचार खोज्ने बताएको छ । 

नेकपा बैठकले दुई बुँदे प्रस्ताव पारित गरेको छ । ‘प्रतिनिधि सभा विघटनको सिफारिश असंवैधानिक, निरंकुश, पश्चगामी र जनभावना विपरीतको स्वेच्छाचारी कदमको विरोध गर्दछ । राष्ट्रपतिबाट यो असंवैधानिक कदमलाई स्वीकार गर्नु आपत्तीजनक छ । यो कदम स्वीकार्य हुन सक्दैन । सम्पूर्ण रूपमा प्रतिवाद गर्दै कानूनी उपचार खोज्ने निर्णय भएको छ,’ पहिलो प्रस्तावमा भनिएको छ । 

संसद् विघटनको विरोधमा संसद्भित्र र बाहिरका पार्टी, नागरिक समाज र लोकतन्त्र पक्षधरलाई निरंकुश कदमविरुद्ध भूमिका खेल्न प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । 

प्रचण्ड–नेपाल समूहको बैठकले गरेको निर्णयको दोस्रो बुँदामा संसद् विघटनको कुकृत्य गरेकाले अनुशासनको कारवाही गर्ने भनिएको छ । 

‘पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिश गरी, प्रतिनिधि सभामाथि निर्मम प्रहार गर्नुभएको छ । देश, जनता र पार्टीको भविष्यलाई अन्धकारतर्फ धकेल्ने र संविधान असफल पार्ने कुकृत्य गर्नुभएको छ । जनतामाथिको विश्वासघात र प्रहार गरेकाले पार्टीको अन्तरिम विधानविपरीत भएकाले अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको छ,’ श्रेष्ठले भने । 

आजको स्थायी कमिटी बैठकले स्थायी कमिटीमा रिक्त स्थानमा कृष्णबहादुर महरालाई लैजान प्रस्ताव गरेको उनले बताए ।

सभामुख बनेपछि महराले नेकपा सदस्यबाट राजीनामा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्