प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन आफ्नो रहर नभइ बाध्यता भएको बताएका छन् ।
उनले संसद पुनःस्थापनाको सम्भावना नभएको भन्दै चुनावको तयारीमा लाग्न आग्रह गरे । ओलीले अहिलेको अवस्थाबारे जनतालाई सुसूचित गर्न पूर्व सांसदहरुलाई निर्देशन दिए ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षधर सांसदहरुको भेलालाई सम्वोधन गर्दै ओलीले सरकारलाई अप्ठेरोमा पारेपछि ताजा जनमतमा जानुको विकल्प नभएको बताएका हुन् । सम्वोधनका क्रममा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको बताए ।
‘हाम्रा साथीहरुलाई प्रचण्डले ललिपप देखाएर लगेका छन्, तारा झारिदिने आश्वासन दिएका छन, तारा त त्यस्तै हो, भोलि बङ्गारा झारेर रोडमा पठाउँछन्, हेर्दै जानुहोला’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागि एक पूर्व सांसदले लोकान्तरसँग भने ।
भेलालाई पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पनि सम्वोधन गरेका थिए । सहमतिका लागि गरिएका प्रयास असफल भएपछि प्रतिनिधि सभा विघटनको बाध्यात्मक अवस्थामा जानु परेको उनले बताए ।
भेलामा पूर्व माओवादी पृष्ठभूमिका नेता लेखराज भट्ट पनि सहभागी भएका थिए ।