
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह काठमाडौं जाने भएका छन् ।
मंगलवार हुने भनिएको केन्द्रीय कमिटिको बैठकमा भाग लिन मुख्यमन्त्री भट्ट र कानूनमन्त्री शाह काठमाडौं जान लागेका हुन् ।
केन्द्रीय कमिटी बैठकभन्दा पहिले दुवैले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
‘भेटमा प्रदेश सरकारको विषयमा पनि छलफल हुनसक्छ,’ स्रोतले भन्यो ‘तर संघीय संसद् विघटन प्रकरण निचोडमा नआएसम्म प्रदेश सरकारमा हेरफेर गर्ने कुरा छैन ।’
मुख्यमन्त्री भट्ट र कानूनमन्त्री शाह केन्द्रीय सदस्य हुन् । भट्ट प्रदेशमा दलको नेता र शाह उपनेता हुन् ।
संघीय संसद् विघटनपछि दलका नेता र उपनेता काठमाडौं पुग्दा प्रदेश सरकारको विषयमा पनि चर्चा शुरू हुन थालेको छ । हाल दुवै जना प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।