
पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद विघटन हुन नसक्ने तर्क पेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गर्दै आएका उनले संसद विघटन गरिएपछि ओलीविरुद्ध थप कडा अभिव्यक्ति दिँदै आएका छन् ।
यसैक्रममा सोमबार राति दिग्गज मानिएका केही बौद्धिक मित्रलाई संविधान निर्मातामध्ये एकको नाताले हल्का ‘रिमाइन्डर’ भन्दै भट्टराईले दुई सवाल राखेका छन् ।
पहिलोमा भट्टराईले ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभइ बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुन नसक्ने नयॉ प्रणाली हो’ भनेका छन् । अर्थात उनले बहुमत कसैले पुर्याउन सक्ने अवस्थामा विघटन नभइ नयाँ सरकार बन्नसक्ने बताएका छन् ।
यस्तै भट्टराईले ‘क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविद्को नभइ क्रान्तिकारी नेताहरू र व्यवहारिक रूपमा विषयगत समिति सभापति र संवैधानिक समितिका सभापतिको हुन्छ’ भनेका छन् ।