२९ असार २०८३, सोमबार

सुरक्षा निकाय उच्च सतर्क

पुस ७, २०७७
सुरक्षा निकाय उच्च सतर्क
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायलाई ‘हाई–अलर्ट’ मा राखेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापासँग लामो सुरक्षा परामर्श गरेपछि मात्रै प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने निर्णय लिएको स्रोतले बतायो ।

प्रतिनिधिसभा विघटनको निर्णय गरेकै दिन आइतबार साँझ पनि ओलीले चारै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी प्रधानसेनापति थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोग प्रमुख गणेश अधिकारीलाई उनले आफ्नो नयाँ कदमपछि आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न पूर्ण रूपमा तयार रहन निर्देशन दिएका थिए ।

‘आफ्नै पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूविरुद्ध चाल्न सक्ने कदमलाई आकलन गरेर उनले सुरक्षा निकायलाई हाई–अलर्टमा राखेका हुन्,’ एक उच्च सुरक्षा अधिकारीले भने, ‘आवश्यक परे संकटकाल लगाउने सम्बन्धमा पनि तयार रहन ओलीले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।’

प्रधानमन्त्री ओलीको निर्देशनअनुसार हरेक सुरक्षा निकायको नेतृत्वले तल्लो तहसम्म नयाँ आइपर्न सक्ने सुरक्षा चुनौतीलाई सामना गर्ने गरी तयारीमा रहन निर्देशन दिइसकेको छ । उक्त निर्देशन दिन प्रधानसेनापति थापाले प्रमुख सैनिक अधिकृत र पृतनापतिहरूसँग छुट्टाछुट्टै भिडियो छलफल गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्