३१ असार २०८३, बुधबार

एप र इन्टरनेटमा पनि क्लिन फिड माग्दै रिट

पुस ७, २०७७
एप र इन्टरनेटमा पनि क्लिन फिड माग्दै रिट

 इन्टरनेट र एपहरूमार्फत प्रसारण हुने सामग्रीमा पनि क्लिन फिड लागू गर्न माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार कात्तिक ७ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भइसकेको छ । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले आइतबार दायर गरेको रिटमा एपमार्फत प्रसारण हुने र इन्टरनेटमार्फत प्रसारण हुने सामग्रीमा पनि क्लिन फिड लागू गर्न माग गरिएको छ ।

क्लिन फिड लागू हुनुअघि नै इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराउँदै आएको आईपीटीभी रोक्नुपर्ने केबल टेलिभिजन व्यवसायीको माग छ । इन्टरनेट सेवा प्रदायकहरूले प्रयोग गर्ने डिभाइस एन्ड्रोइड भएको र त्यसमा क्लिन फिडबिनाको सामग्री प्रसारण भइरहेको भन्दै उनीहरूले केबल र इन्टरनेट सामग्रीलाई समान व्यवहार हुनुपर्ने भनेका छन् । सर्वोच्चमा परेको रिटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सूचना तथा प्रसारण विभाग नेपाल र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ ।

‘विपक्षीहरूबाट विज्ञापन नियमन गर्ने ऐनको दफा ६, राष्ट्रिय प्रसारण नियमावलीको नियम ६ तथा सोही नियमावलीको अनुसूची ४ प्रतिकूल कार्य भइरहेकाले,’ सर्वोच्चमा दायर रिटमा भनिएको छ, ‘विपक्षीका नाममा परमादेशलगायत अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाऊँ ।’

रिटको अन्तिम टुंगो नलागेसम्म एन्ड्रोइड तथा आईओएस मोबाइल र एन्ड्रोइड आईपीटीभी बक्समा एप तथा ओटीटीका माध्यमबाट हुने प्रसारण तथा युट्युब र इन्टरनेट ब्राउजरका माध्यमबाट विज्ञापनसहितका सामग्री प्रसारण हुनबाट तत्काल रोक्नु भनी विपक्षीका नाममा आदेश जारी गर्न पनि रिटमा माग गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्