
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन नभएको बताएका छन् । “नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उनले भने । उनले आफू कसैको, कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको जिकिर गरे ।
“बैठकले मलाई थप उत्साहित ढङ्गबाट प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ”, उनले भने ।
नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको सिफारिशअनुसार राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनको घोषणालाई अस्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अविलम्ब संसद् बैठक आह्वान गर्न र संसद्को नियमित कार्य सञ्चालन गर्न पनि माग गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार बिहान ११ः३० बजे कार्की ब्याङ्क्वेटमै बस्नेछ । बैठकमा नेकपाका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ को उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सोही बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पनि गरेको छ ।