
संघीय राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
जुम्लाको उद्योग वाणिज्य महासंघको हलमा २ नगरबीच भगिनी सम्बन्ध स्थापना भएको हो ।
२ नगरबीच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौता पत्रमा हस्ताक्षर भयो ।
पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि निर्माण गरिने सो पार्कका लागि काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बजेटबाट १ करोड ५० लाख रुपैयाँ दिने घोषणा गर्यो । सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालबीच हस्ताक्षर भयो ।
हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले एकतामा अनेकता नभई अनेकताकाबिच एकता खोज्ने उदेश्यका साथ आफ्नै मुलुक भित्रका नगरहरुसँग नगर–नगर साझेदारी कार्यक्रम अघि बढएको स्मरण गराए । ‘२ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ,र सबल बनाउने, आपसी हित र सहकार्यलाई प्राथमिकता दिने, असल अभ्यास र अनुभवको आदानप्रदान गरी स्थानीय स्वायत्व शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उदेश्यले यो सम्बन्ध स्थापना गरेका हौं,’ शाक्यले भने, ‘यो सम्बन्धले संस्थागत सबलता र सुदृढीकरणमा सहकार्य, असल अभ्यास तथा सफल अनुभवको आदन–प्रदान, स्थानीय पर्यटन प्रवद्र्धन, प्रकृति तथा प्रर्यावरणको संरक्षण, स्थानीय सुशासनमा सहकार्य, साझेदारीका लागि पनि सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’
प्रमुख शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्ने लगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताए । ‘भगिनी सम्बन्धमार्फत हामी सम्पदा र पर्यटनलाई पनि जोड्न चाहन्छौं,’ उनले भने, ‘जुम्ला ऐतिहासिक ठाउँ, यो जिल्लाको सिंजा नेपाली खस भाषाको उत्पति भएको ठाउँका रुपमा पनि परिचित छ, काठमाडौं नेपाल भाषाको । जातीय, भाषिक र भुगोलको विविधताले भरिएको देश नेपालमा यी सबै कुराको अस्थित्वलाई बचाउँदै एकता कायम गरी अघि बढ्न सकियो भने मात्रै देशको विकास गर्न सकिन्छ । हामीले एकतामा अनेकता होइन अनेकतामा एकता खोज्नुपर्छ, यही उदेश्यका साथ यी दुईबिच भगिनी सम्बन्ध स्थापना गर्दैगर्दा इतिहासको सम्बन्ध पनि जोडिएको छ, हामी खुशी छौं ।’ उनले एकआपसमा लडेर देश समृद्ध नहुने पनि बताए ।
प्रमुख शाक्यले काठमाडौंमा रहेका मूर्त–अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै त्यसको संरक्षणमा दत्तचित्त भएर लागेको पनि उनले स्मरण गराए ।
कार्यक्रममा चन्दननाथकी प्रमुख सेजुवालले २ नगरबीच सम्बन्ध स्थापना हुनु खुशीको कुरा भएको भन्दै आगामी दिनमा विद्युत् व्यवस्थापन, सडक र भौतिक पूर्वाधार निर्माण, पर्यटन मार्ग निर्माण लगायतका लागि पनि सहकार्य गर्न सकिने बताइन् । चन्दननाथ बाबाको नामबाट प्रख्यात जुम्लाको चन्दननाथ नगरपालिका पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण रहेको भन्दै महानगरपालिकाको सहकार्यमा निर्माण हुने पार्क निर्धारित मितिमै सम्पन्न गर्ने पनि प्रतिवद्धता व्यक्त गरिन् ।
‘आर्थिक वर्ष २०७८/०७९ भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । हामी त्यो अवधि भित्रमा सम्पन्न गरि छाड्छौं,’ सेजुवालले भनिन्, ‘हामीले विदेशी होइन स्वदेशी नगरसँगै सहकार्य गर्नुपर्छ भनेर काठमाडौं महानगरसँग सहकार्य गरेका छौं । देशकै ठूलो र पुरानो महानगरबाट यो नगरलाई सहकार्यसँगै विकास निर्माणमा गरेको साझेदारीले हामी थप उत्साहित भएका छौं ।’ उनले तिला, हिमा, जुवा नदीले प्रख्यात जुम्लामा विष्णु ताल, हुड्के ताल, जोगी ताल, शंख दह, ठाकुरज्यु दह, गिडी दह रहेको पनि बताइन् ।
कान्जिरोवा हिमालको फेदीबाट शुरू भई समग्र सिंजा क्षेत्र हुँदै दक्षिणतिर बग्ने नदी पनि जुम्लामै अवस्थित छ ।
त्यसैगरी चन्दननाथ मन्दिर, विराट दरबार, चिरमालिका, भैरवनाथ, कनकासुन्दरी, सिजा क्षेत्र, नाग्मा पनि जुम्लामै रहेका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यसअघि नै रामग्रामसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संकृति र पर्यटनलाई जोड्दन स्वदेशकै नगर–नगरबीच भगिनी सम्बन्ध स्थापनाको कार्य अघि बढाएको बताइन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले काठमाडौं महानगरपालिकाको सहयोग र सहकार्यले जुम्लेली जनता खुशी भएको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत राजेश्वर ज्ञवाली, चन्दननाथका खडानन्द चौलागाईलगायतको उपस्थिति थियो । कार्यक्र अघि प्रमुख जिल्ला अघिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, मेयर लगायतले विमानस्थलदेखि नै झाँकीसहित प्रमुख शाक्य सहितको टोलीलाई कार्यक्रमस्थलसम्म पुर्याएका थिए । एउटा निर्वाचन क्षेत्र रहेको जुम्लामा नगरपालिका पनि एक मात्रै रहेको छ ।