राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ ।
प्राधिकरणको छैटौं स्थापना दिवसको अवसरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो ।
कार्यालयका इन्जिनियर सुजन नेपालका अनुसार जिल्लामा रहेका ७ हजार ८६० लाभग्राहीमध्ये ६ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको १ लाख समेत लिइसकेका छन् । दोस्रो किस्ता बापतको १ लाख ५० हजार ६ हजार ५२६ लाभग्राहीले र पहिलो किस्ताबापत ५० हजार ७ हजार ५१६ रुपैयाँ लाभग्राहीले लिइसकेका छन् ।
प्रबलीकरणतर्फ हालसम्म प्रथम किस्ता बापतको ५० हजार रुपैयाँ बुझ्ने १ हजार २६२ लाभग्राहीमध्ये ९ जनाले दोस्रो किस्ता बापतको रकम ५० हजार रुपैयाँ समेत बुझिसकेका छन् । प्रबलीकरणका लागि १ हजार ३७८ लाभग्राही रहेका छन् ।
नेपालका अनुसार कार्यालयसँग निजी आवासतर्फ ३४४ र प्रबलीकरणतर्फ ११६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ ।
नाम दोहोरिएका, वडामा समेत सम्पर्कमा नआएका, बसाइँ सरी अन्यन्त्र गएका, घर पुनःनिर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताए । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६३३ जना, तेस्रो किस्ता लिन नआउने ४०४ लाभग्राही रहेका छन् ।
स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनीयर सुवास न्यौपानेले बताए ।
कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने २ जना रहेका छन् । यसैक्रममा २३३ डकर्मी उत्पादन गरिएको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले पुस १५ गतेसम्मका लागि समय दिएको नेपालले जानकारी दिए ।
सोही अवधिमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तर्फ हालसम्म १७९ वटा विद्यालय भवन बनेका छन् । ५७४ वटा कक्षा कोठा निर्माण भएको शिक्षाका इन्जिनीयर सरोज श्रेष्ठले जानकारी दिए । शौचालय १०४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ ।
उनका अनुसार जिल्लाका २३३ वटा विद्यालयमा ७४० कक्षा कोठा क्षति पुगेको थियो । विद्यालयको भवन निर्माणतर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।