
कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन शुरू भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ । तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरे अनुसारको धान उत्पादन भने हुन सकेन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।
कोरोना महामारीका कारण शहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १४ लाख ५५९ हेक्टरमा खेती भएकोमा यसपटक वृद्धि भई १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको हो । यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
विगत ५ वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३/७४ को तुलनामा यो उत्पादन करीब ७.४८ प्रतिशतले बढी अर्थात् ३ लाख ९१ हजार मेट्रिक टनले बढी भएको मन्त्रालयले जनाएको छ । २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५, २०७५/०७६ मा ५६ लाख १० हजार ११, र २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।
मन्त्रालयले ७ वटै प्रदेशमा २ आर्थिक वर्षमा उत्पादन भएको तथ्यांक पनि उपलब्ध गराएको छ । त्यसमा सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश २ मा ३ लाख ८२ हजार २७५ हेक्टरमा खेती भएको थियो । जसमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रदेश १ को ३ लाख ३० हजार ४३८ हेक्टरमा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशको १ लाख ३२ हजार ८१३ हेक्टरमा ५ लाख ९ हजार ५९०, गण्डकी प्रदेशको १ लाख ६ हजार ५४१ हेक्टरमा ३ लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशको ३ लाख ७ हजार १४९ हेक्टरमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेशको ३९ हजार ४१ हेक्टरमा १ लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशको १ लाख ७५ हजार २१८ हेक्टरमा ६ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा जेठ ३० गतेदेखि नै सक्रिय मनसुन शुरू भएको थियो भने गत आर्थिक वर्षमा असार ५ गतेबाट मनसुन शुरू भएको थियो । गत वर्षको तुलनामा यसपालि ३१ प्रतिशतभन्दा बढीले वर्षा भएको मन्त्रालयले जनाएको छ । यसपटक समयमा रोपाइँ सम्पन्न भएको थियो । त्यसका साथै बन्दाबन्दीका कारण क्षेत्रफलमा वृद्धिका कारण कामदारको उपलब्धताले धान उत्पादनको कारण बनेको मन्त्रालयले जनाएको छ ।
प्रदेशगत कृषि कार्यालयहरूबाट समयमा बीउबिजन, मल, औजारको उपलब्धताले गर्दा पनि धान उत्पादनमा वृद्धि भएको मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए । गत सालको तुलनामा धानको ९५ प्रतिशत उन्नत बीउ पनि किसानले प्रयोग गरेका कारणले नतिजा परिणामुखी आएको उनले बताए ।
धानबालीको सिजनमा गत सालभन्दा न्यून युरिया आपूर्ति हुँदा पनि तराई–मधेसका किसानले सीमापारिबाट अनौपचारिक रूपमा रासायनिक मल ल्याएर असहजता पूर्ति गरेको कृषि मन्त्रालयले जनाएको छ ।
रोपाइँको समयमा यस वर्ष अहिले अनुमान गरिएभन्दा बढी धान फल्ने प्रक्षेपण गरिएको थियो तर दोस्रो टप ड्रेसिङमा युरिया मलको अभाव रहेकाले प्रक्षेपित मात्रामा धान उत्पादन हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ । यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य मन्त्रालयले लिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।