
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन तीनजना नेतालाई बोलाएर प्रधानमन्त्री र पार्टीको अध्यक्ष बनाउने आश्वासन बाँडेको बताएका छन् ।
उनले ओलीमा निरंकुशतावादी प्रवृत्ति हावी भएको आरोप समेत लगाए ।
‘ओलीले ११ बजे वामदेवलाई बोलाएर आजै प्रधानमन्त्री छाड्न चाहन्छु, प्रतिनिधि सभामा उपनिर्वाचन गरेर तपाईंलाई ल्याउन आतुर छु । राष्ट्रिय सभामा ल्याउन संविधान संशोधन गर्न तयार छु । महाधिवेशन गरेर एकल अध्यक्ष बनाउन तयार छु भन्नुभएछ,’ मंगलवार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘एक घण्टापछि १२ बजे मलाई बोलाएर अरू कोही काबिल भएनन्, तपाईंले नै प्रधानमन्त्री हो, र तपाईं नै एकल अध्यक्ष बन्नुपर्यो भन्ने, फेरि ४ बजे प्रचण्डलाई बोलाएर तपाईं प्रधानमन्त्री भन्ने, जब हामी तीनैजना भेला हुन्छौं जम्मै भण्डाफोर हुन्छ ।’
केपी ओलीमा कम्युनिस्ट आचरण र लोकतान्त्रिक संस्कार नभएको नेता नेपालले आरोप लगाए ।
‘केपी बाको सामन्ती प्रवृत्ति हामीलाई चाहिँदैन’ नेता नेपालले भने ।