
सरकारको सिफारिसमा राष्ट्रपतिले 'असंवैधानिक' रूपमा संसद विघटन गरिदिएपछि सत्तारूढ दल नेकपाको एउटा पक्षले सडकको सहारा लिएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले मंगलवार सडकबाट प्रधानमन्त्रीसमेत रहेका अर्को पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिए पतन निश्चित रहेको चेतावनी दिएको हो ।
मंगलवार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायतका नेताहरूले ओलीले पतनको मार्ग रोजेको भन्दै चर्को आक्रोश पोखेका थिए ।
ओलीसँग बयलगाडा सिद्धान्त – प्रचण्ड
विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग 'बयलगाडा'को सिद्धान्त रहेको भन्दै तिखो शब्दमा आलोचना गरेका थिए । 'ओलीको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने मलाई थाहा थियो,' प्रचण्डले भने, 'बयलगाडा चढेर अमेरिका जान सकिन्न भन्ने उनको सिद्धान्त थियो । ओली संघीयता र धर्मनिरपेक्षता विरोधी पनि हो भन्ने मलाई थाहा थियो । परिवर्तन स्वीकार्न उनको मनले मानेको थिएन, आन्दोलनको विशाल महासागर आयो त्यसैमा बगिदिएँ भन्थे ।'
प्रचण्डले तत्कालीन एमालेका महासचिव मदन भण्डारीको स्मरणसमेत गरे । ‘यहाँ बसिराख्दा २०४६ सालको जनआन्दोलनका बेला मदन भण्डारीले गरेको सम्बोधनको स्मरण गरें,' प्रचण्डले भने, 'त्यो दिन मदन भण्डारीले भन्नुभएको थियो, यो ट्रेलर मात्र हो, भत्करु आएको मात्र हो, जन्ती आउन बाँकी छ, बाजा बज्न बाँकी भन्नुभएको थियो । आजको काठमाडौंको सभा त्यसैको संकेत हो लोकतन्त्रमाथिको प्रहार नरोकिए अब आँधीबेहरी आउँछ ।'

प्रचण्डले पार्टी एकताको तीन वर्ष बित्दा नबित्दै आफैंले बनाएको प्रधानमन्त्रीले संविधान र गणतन्त्रमाथि प्रहार गरेकोमा आफूले क्षमा माग्न चाहेकोसमेत उल्लेख गरे ।
'म क्षमा याचना गर्न चाहन्छु । मैले नै वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर गएको थिएँ । उनी बयलगाडामै छन् । उनी प्रतिगमनकारी ठाउँमै छन् भन्ने देखियो । हामीले उनलाई सच्चिएहोलान् भन्ने ठान्यौं, तर अहिले कही न कहीं मलाई थोरै अप्ठेरो महसुस भएको छ । क्षमा याचना भन्न चाहन्छु,' प्रचण्डले भने ।
सच्चिएर आए सहकार्य हुन्छ, नत्र पतन – नेपाल
विरोध सभामा बोल्दै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटन गरेकोमा पश्चाताप गरेर प्रतिनिधि सभा पुनःस्थापनाका लागि तयार भए सबै कुरा बिर्सिन तयार रहेको बताए ।
उनले संविधान विपरीतका कदम फिर्ता नगरे ओलीको पतन निश्चित रहेको दाबी गरे । यद्यपि संसद् विघटन फिर्ता लिने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन ।
‘अझै आशा मारेका छैनौं, ओलीले पश्चाताप गरेर प्रतिनिधि सभा विघटनको गल्ती भएको स्वीकार गर्नुहुन्छ भने प्रतिनिधि सभा पुनःस्थापनाका लागि अगाडि बढ्नुहुन्छ भने हामी सबै कुरा बिर्सिन तयार छौं,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विरोध कार्यक्रममा नेता नेपालले भने, ‘त्यही बाटो अवलम्बन गर्ने हो भने भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सकिन्छ ।’

नेता नेपालले प्रतिनिधि सभा विघटन गर्ने व्यक्ति, प्रतिनिधि सभा भंग भइसकेपछि कामचलाउ बनेका प्रधानमन्त्री ओलीले मन्त्रीको लोभ देखाउँदै पद बाँडिरहेको आरोप लगाए । नेता नेपालले आफूहरू नै नेकपाको आधिकारिक लाइन भएको दाबी गर्दै सूर्य चुनाव चिह्न आफूहरूले पाउने दाबी गरे ।
घरघरमा ल्याउने भनेको चुल्हो र रेल खै – खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले घर-घरमा ल्याउने भनिएको चुल्हो प्रधानमन्त्री केपी ओलीले आफ्नै घरमा लगेको आरोप लगाए । विरोध कार्यक्रममा बोल्दै खनालले केपी ओलीले घर-घरमा ल्याउने भनेको चुल्हो खै भनेर प्रश्न पनि गरेका छन् ।
'तीन वर्ष ओलीले गफ गफ हाँकेर बिताए,' खनालले भने, 'कहिले पानीजहाज भने, कहिले घरघरमा चुल्हो, कहिले रेल । खै चुल्हो ? खै रेल ? ओलीले आफ्नै घरमा लगे होलान् ।' उनले सरकारलाई धेरै पटक आफूहरूले सुझाव दिएको तर नसुनेको आरोप लगाए ।

खनालले ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाए । 'भोट ओलीलाई दिएको होइन, हाम्रो पार्टीलाई दिएको हो,' उनले भने, 'ओलीले पार्टीलाई भर्याङ बनाए । प्रधानमन्त्री बन्ने भर्याङका रूपमा उनले पार्टीलाई दुरुपयोग गरे ।'
खनाल थप कड्किए - 'उनले हाम्रो सुझाव एकपटक पनि सुनेनन् । पूँजीवादी नीति र कार्यक्रम आए । बजेट ठीक ढंगले ल्याइएन । परिणाम स्वरूप यो तीन वर्षमा गफै गफ हाँकेर बित्यो,' खनालले भने, 'उखान र टुक्का हालेर देश चल्दैन ।' खनालले मरिचमानले गरेजति पनि काम गर्न नसकेको भन्दै ओलीको आलोचना गरे ।
प्रतिनिधि सभाको बैठक सुचारु नहुने बेलासम्म आन्दोलन – प्रवक्ता श्रेष्ठ
विरोध सभामा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले विघटित प्रतिनिधि सभाको बैठक सुचारू नहुँदासम्म आफूहरूको आन्दोलन नरोकिने बताए ।
भृकुटीमण्डपमा गरिएको विरोध सभाको अध्यक्षता गर्दै आन्दोलन मूल आयोजक समितिका संयोजक समेत रहेका श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम नसच्चिँदासम्म आन्दोलन जारी रहने बताएका हुन् ।

‘हाम्रो शान्तिपूर्ण र मर्यादित संघर्ष भाँड्न विभिन्न षड्यन्त्र हुनेछ, हाम्रो आन्दोलन तबसम्म जारी रहनेछ, जबसम्म प्रतिनिधि सभाको बैठक सुचारु हुने छैन,’ प्रवक्ता श्रेष्ठले भने ।
हामी खुट्टा कमाउँदैनौं – शाक्य
नेकपाकी स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश सभा सांसद अष्टलक्ष्मी शाक्यले सरकारको सर्वसत्तावादी कदमविरुद्ध शुरू भएको आन्दोलन सफल भएर छाड्ने दाबी गरिन् ।
‘हामी खुट्टा कमाउनु पर्ने छैन, पछाडि फर्किनु पर्ने छैन । कमरेड केपी ओली नभई सर्वसत्तावादी केपी ओलीविरुद्ध हामीले संघर्ष गरेको हो, ओलीको सर्वसत्तावाद ढल्नेछ,’ शाक्यले भनिन् ।

शाक्यले राजाविरुद्धको आन्दोलनमा पनि आफूहरू सडकमै उत्रिएको स्मरण गरिन् । 'हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं,' उनले भनिन्, 'अहिले ओलीविरुद्ध सडकमा छौं । जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासनपनि ढल्नेछ ।'
उनले ओली कमरेड नरहेको आरोप लगाइन् । 'जनताको अधिकार खोसेर ओली कमरेड रहेनन् । उनी निरंकुश सामन्ती शासक ओली बने । जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैन,' शाक्यले आक्रोश पोखिन् ।
संविधानमाथि कू भयो – भट्टराई
स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय नसच्चिएसम्म आफूहरूले सडक आन्दोलन गरिरहने बताए ।

विरोध सभामा उद्घोषण गरेका नेता भट्टराईले संविधान नसच्चिँदासम्म आफूहरूले आन्दोलन कायम राख्ने बताएका हुन् । ‘हामी सडकमा आयौं भनेर जानकारी दिन आज हामी सडकमा आएका छौं, जुनदिनसम्म संविधानविरोधी कदम सच्चिँदैन, जबसम्म प्रतिनिधि सभाको बैठक बोलाइँदैन तबसम्म हामी सडकमा हुनेछौं,’ भट्टराईले भने ।
प्रधानमन्त्री केपी ओली सरकारका निवर्तमान मन्त्री समेत रहेका भट्टराईले ओलीले संविधानमाथि कू गरेको आरोप समेत लगाए ।
नेकपाले आज प्रधानमन्त्रीविरुद्ध देशव्यापी प्रदर्शनका कार्यक्रमहरू गरेको थियो । वागमती प्रदेशका सबै विरोध सभा काठमाडौँमा गरिएका थिए भने अन्य प्रदेशका सबै जिल्लाहरूमा विरोध सभा गरिएको हो ।