
नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ‘कर्पोरेट–पे’ प्रणालीको शुरूआत गरेको छ ।
बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैंक खाताबाटै सोझै विद्युतीय भुक्तानी गर्न सकिने प्रणालीको शुरूआत गरेको हो । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
‘कर्पोरेट–पे’ प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैंले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता विना नै गर्न सकिने छ ।
बैंकले १२७ वटा शाखा कार्यालयहरू, १०२ वटा एटीएम एवं ७ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा दिँदै आइरहेको छ ।