१० साउन २०८३, आइतबार

बीपीको सम्झनामा कांग्रेसले ४५ औं मेलमिलाप दिवस मनाउँदै

पुस १६, २०७७
बीपीको सम्झनामा कांग्रेसले ४५ औं मेलमिलाप दिवस मनाउँदै

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । 

यसै सन्दर्भमा कांग्रेसले बिहीवार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका कार्यक्रम गरी ४५ औं मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विक्रम संवत् २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।
 
दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका कांग्रेस नेता बीपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंह लगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला लगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । 

शाही ‘कु’पछि कांग्रेस नेतालाई करीब ३ महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विक्रम संवत् २०२५ सालमा भारत प्रवासमा गएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि ८ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका जननायक बीपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका छन् । बीपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्‍याएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन् सान्दर्भिक बनेको छ । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’(आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेखेका थिए । बन्दीगृहमा बस्नुअघि विक्रम संवत् २००८ सालमा उनको ‘दोषी चश्मा’ कथासंग्रह प्रकाशन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्