
महानगरीय प्रहरी वृत्त बौद्धमा सुनचाँदीलगायतका गरगहना चोरीका उजुरी आइरहेका थिए । पछिल्लो समय झन् धेरै चोरी भएको भन्दै उजुरी आउन थालेपछि अनुसन्धानका लागि बौद्धबाट सादा पोशाकमा प्रहरी खटिए ।
प्रहरीमा उजुरी आउँदा अधिकांशले ‘पहेँलो ज्याकेट’ लगाएको मानिसले चोरेको भन्ने सूचना दिएका थिए । प्रहरीले सीसीटीभी फूटेजमा पनि चोरी गर्ने व्यक्ति ज्याकेट र पहेँलो स्कूटीमा सवार भएको भेटियो ।
त्यही पहेँलो ज्याकेटलाई ‘क्लू’ मानेर प्रहरी चोरको खोजीमा लागेको थियो । प्रहरीले बौद्ध क्षेत्रका सीसीटीभी फूटेजको पनि अनुसन्धान शुरू गर्यो, तर केही ‘क्लू’ फेला पारेन् ।

एक महिना अगाडिदेखि नै समय–समयमा पहेँलो ज्याकेट र पहेँलो रंगको बाग्मती प्रदेश ०२–० २० प ६६१० नम्बरको टीभीएस एनटोर्क स्कूटी सीसीटीभी फूटेजमा देखिएको थियो, तर त्यो नम्बरमा कुनै पनि स्कूटी यातायात व्यवस्था विभागमा दर्ता थिएन भने मुखको भाग नदेखिएकाले को हो भन्ने पत्ता लगाउन सकिएको थिएन ।
तर एक दिन प्रहरीले अनुसन्धानकै क्रममा सीसीटीभी फूटेजमा बौद्धको एक बैंकनजिकै पहेँलो कलरको सोही स्कूटी फेला पर्यो । प्रहरी टोली तत्कालै त्यो स्कूटी भएको क्षेत्रमा गयो । त्यसको धनी कुर्यो ।
केही समयमा बैंकबाट एक जना मानिस आए । प्रहरीलाई चोरी गर्ने गिरोह पत्ता लगाउनु थियो । ती व्यक्तिको पिछा गर्यो ।

उनी बौद्धको एक घरमा गए प्रहरीले पिछा गरि नै रह्यो । त्यहाँ जाँदा अन्य ३ जना मानिसहरू पनि थिए ।
त्यहाँ लागू औषधको कारोवार भइरहेको थियो । प्रहरीले चोर खोज्दै जाँदा लागूऔषधका कारोवारी पनि पक्राउ गर्यो ।
त्यहाँबाट झापा जिल्ला साविक सरनमती गाउँविकास समिति– ५ घर बताउने हाल काठमाडौं– ६ आरुबारी निवासी २७ वर्षको सोनाम लामा, सिन्धुपाल्चोक साविकको तातोपानी गाविस– ५ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ३७ वर्षीय सञ्जीव तामाङ, झापा कन्काई नगरपालिका–३ घर भई गोकर्णेश्वर बस्ने सनम माझी र झापा शिवसताक्षी नगरपालिका–५ घर भई गोकर्णेश्वरमै बस्ने विजय लिम्बूलाई प्रहरीले पक्राउ गर्यो ।

त्यसपछि प्रहरीको ध्यान सुन चोर्ने चोरको खोजीमा थियो । प्रहरी त्यहाँ गएपछि सोनाम लामा नै मुख्य चोर भएको पत्ता लगाउन गाह्रो भएन किनकी उजुरीमा आएको हुलिया र सीसीटीभी फूटेजले उनैलाई संकेत गर्थ्यो ।
प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि चोरीमा संलग्न अन्य ३ जनालाई पनि उनीहरूसँगै केरकारका क्रममा फेला पार्यो ।
महानगरीय प्रहरी वृत्त बौद्धका वृत्तपति प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार सोनाम ब्राउन सुगरका प्रयोगकर्ता थिए ।
उनी त्यहाँ ब्राउन सुगर खरिद गर्न जाँदा प्रहरीले बौद्ध क्षेत्रमा ब्राउन सुगरको सप्लाई गर्ने डिलर नै फेला पारेको थियो । त्यसका मुख्य कारोवारी सञ्जीव तामाङ रहेको पत्ता लाग्यो ।
‘चोरलाई पक्राउ गर्दा बौद्ध क्षेत्रको मुख्य ब्राउन सुगरको डिलरको रूपमा रहेको सञ्जीव तामाङलाई पनि पक्राउ गर्न सफल भयौं,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘त्यसपछि हामीले मुख्य चोर सोनाम लामाको ग्याङलाई पनि उनीहरूकै सुराकमा पक्राउ गर्यौं ।’
प्रहरीको अनुसन्धान खुल्न आयो चोरी गर्ने क्रममा सोनामले बाग्मती प्रदेश ०२–० २० प ६६११ नम्बरको स्कूटरलाई पछाडिको ‘१’ अंकमा ‘०’ बनाएर चलाउँदै आएका रहेछन् । अन्य समयमा सही नम्बर प्रयोग गर्ने खुलेको डीएसपी कार्कीले बताए ।

प्रहरीले भोजपुरको पौवादुङ गाउँपालिका–२ का ३२ वर्षीय सन्तोष विक, भोजपुर नगरपालिका– १२ का ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ र भारत घर भई हाल गोकर्णेश्वर नगरापालिका– ६ जोरपाटी बस्ने २३ वर्षीय युवराज बलु बबरालाई पनि पक्राउ गर्यो ।
अनुसन्धानको क्रममा खुल्यो बलु बबराले जोरपाटीको बराल पेट्रोल पम्पनजिकै श्री गणेश टञ्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्र पसल गैरकानूनी रूपमा चलाउँदै आएको र चोरीको सुन सोनामले त्यहीँ बिक्री गर्ने गरेको तथ्य खुल्न आयो ।

प्रहरी उनीहरूको साथबाट ६० तोला ७८ लाल सुन, ५ लाख ३२ हजार नगद, ५ केजी ६२८ ग्राम चाँदी, ५ थान ढक तराजु, २० वटा मुगाको गेडा, ६ थान ब्रान्डेड घडी, ल्यापटप एउटा, ९ वटा मोबाइल २ वटा स्कूटर र विभिन्न रेमिटबाट पैसा पठाएका भौचरहरू बरामद गरेको छ ।
९ वर्षदेखि शरणार्थीको रूपमा नेपाल आएर चोरी धन्दा
प्रहरी अनुसन्धानका क्रममा झापा जिल्ला साविक सरनमती गाउँविकास समिति–५ घर बताउने हाल काठमाडौं–६ आरुबारी बस्ने २७ वर्षको सोनाम लामा भातरमा तिब्बती शरणार्थीका रूपमा बस्दै आएका थिए ।
उनी ९ वर्षअगाडि अर्थात् १८ वर्षको उमेरदेखि नेपालमा बस्दै आएका छन् । सोनामले झापाबाट नेपाली नागरिकता लिएको बयान दिएका छन् तर अहिलेसम्म नागरिकताको प्रमाण पत्र देखाउन नसकेको डीएसपी कार्कीले बताए ।
चोरीको पैसाले हाईफाई लाइफ स्टाइल, लाहुरेकी छोरी बिहे
सोनामले चोरीको पैसाले नेपालमा हाईफाई लाइफस्टाइल बिताउँदै आएका थिए ।
प्रहरीका अनुसार उननी आरुबारी क्षेत्रमा एउटा आलिशान फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् ।
उनीहरूको फ्ल्याटमा खाना पकाउने कुनै पनि सामग्री छैनन् । श्रीमतीसँगै बस्दै आएका सोनामले दैनिक रेस्टुरेन्टबाट खाना मगाएर खाने गरेको खुलेको छ ।
उनले बौद्ध क्षेत्रका एक जना ब्रिटिस आर्मीकी छोरीलाई आफू धनी खानदानको र ठूलो व्यापारी भएको भान दिलाएर बिहे गरेको प्रहरीको अनुसन्धानमा खुलेको बौद्ध प्रहरीले जनाएको छ ।
‘मुगा लगायतका बहुमूल्य वस्तु व्यापार गर्दै आएको छु, त्यसैबाट टन्न पैसा कमाउँछु भन्नुहुन्थ्यो,’ सोनामकी श्रीमतीले प्रहरीलाई प्रारम्भिक अनुसन्धानमा भनेको डीएसपी कार्कीले बताए ।
प्रहरीले पक्राउ गरेपछि मात्रै श्रीमतीले आफ्नो श्रीमान् चोर भएको थाहा पाएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध अनुसन्धान गरेर चोरी र लागूऔषधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।