
निकै उतारचढावका बीच सोमवार अन्तिम समयमा आएर शेयर बजारमा सामान्य वृद्धि भएको छ ।
यस दिन सामान्य वृद्धि भएपनि हालसम्मकै ऐतिहासिक विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
यस दिन नेप्से परिसूचक ३.७० अंकले बढ्दै २२३९.४२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जुन विन्दु नेप्सेको इतिहासमै सर्वाधिक धेरै हो । आइतवार पनि नेप्सेले नयाँ उचाई कायम गरेको थियो ।
सोमवार सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले वृद्धि भई ४२९.३९ विन्दुमा पुगेको छ ।
कूल २ सय ८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता शेयर सोमवार ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
१२ उपसमूहमध्येमा यस दिन ७ वटा उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी ५ वटा उपसमूहको सूचक ऋणात्मक छन् ।
जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा, वित्त, विकास बैंक, जीवन बीमा उपसमूहको सूचक क्रमशः १.७५ प्रतिशत, १.२६ प्रतिशत, १.२४ प्रतिशत र १.१६ प्रतिशतले बढेका छन् ।
माइक्रोफाइनान्स, होटल, ट्रेडिङ लगायतका उपसमूहको सूचक भने घटेको छ ।
सोमवार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको लगानीकर्ताहरूले सबैभन्दा धेरै ५.९५ प्रतिशत गुमाएका छन् ।