
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बर्दियाको शिवगंगा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्ष सहितको नवनिर्मित भवनको मंगलवार उद्घाटन गरेका छन् ।
१ करोड ४० लाख रुपैयाँको लागतमा निर्मित भवनमा ३० कोठा छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि ८५ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।
केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शंकरप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी लगायतको सहभागिता थियो ।