
जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको थुनुवा कक्षका लागि पुस्तक हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पुस्तक हस्तान्तरण गरेको हो ।
महासंघले मंगलवार आफ्नो १६ औं स्थापना दिवसको अवसरमा कार्यालयमा एक कार्यक्रम गर्दै पुस्तक हस्तान्तरण गरेको हो ।
संस्थाले ४१३ थान पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई किताब फाइदाजनक हुने बताए । किताबको पूर्ण सदुपयोग हुने उनले विश्वास व्यक्त गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँले आफ्नो व्यवसायसँगै सामाजिक दायित्व बहन गर्दै पढ्ने संस्कृतिको विकास गर्न पुस्तक सहयोग गरेको बताए ।
महासंघका बागमती प्रदेश अध्यक्ष किरणकुमार खनालले थुनुवाकक्षमा रहेका व्यक्तिलाई किताबमार्फत असल बाटोमा हिँड्न अभिप्रेरित गर्नका लागि किताब सहयोग गरेको बताए ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले हिरासतमा रहेका व्यक्तिका लागि पढ्ने व्यवस्था गर्ने जानकारी दिए । गुरुङले पछिल्लो समयमा अपराधका घटना बढ्दै जाँदा कानूनले मात्र नभएर प्रहरीसँग समुदाय साझेदारी गरी सकारात्मक सोचको विकास गर्न सकेमा अपराधका घटना कम गराउन सकिने बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनमा ८० थुनुवा अटाउने हिरासत कक्ष रहेको छ भने हाल ५२ विभिन्न मुद्दा खेपिरहेका आरोपित छन् ।