२१ असार २०८३, आइतबार

बेलायती थिंकट्यांकले गर्‍यो भारतको कठोर आलोचना

माघ ४, २०७७
बेलायती थिंकट्यांकले गर्‍यो भारतको कठोर आलोचना

बेलायतको प्रभावशाली थिंकट्यांक संस्था च्याटम हाउसले भारतसँग धेरै अपेक्षा नगर्न बेलायत सरकारलाई चेतावनी दिएको छ । 
 

च्याटम हाउसले नयाँ प्रतिवेदन सार्वजनिक गर्दै लेखेको छ, ‘भारतलाई जति ध्यान दिनुपर्ने हो, त्यति मात्र दिए हुन्छ । भारतसँगको सम्बन्धबाट बेलायतले प्रत्यक्ष आर्थिक तथा कूटनीतिक लाभ पाउँदैन ।’

'ग्लोबल ब्रिटेन, ग्लोबल ब्रोकर' शीर्षकको यस रिपोर्टमा बेलायतसँग शक्ति भए पनि संसारभरि प्रभाव कम हुँदै गएकोमा पीर मानिएको छ । 

उक्त प्रतिवेदनले भारतलाई चार अप्ठ्यारा देशहरूको सूचीमा राखेको छ । यी देशहरू बेलायतका प्रतिद्वन्द्वी बन्ने बताइएको छ । 

चार देशहरू भारत, चीन, साउदी अरब र टर्कीलाई रिपोर्टमा डिफिकल्ट फोर भनिएको छ । 

भारतले अमेरिकासँग सम्बन्ध घनीभूत बनाउँदै गएकाले बेलायतसँगको सम्बन्ध कमजोर बनेको रिपोर्टमा लेखिएको छ । अमेरिकी प्रशासनहरूले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाएकाले बेलायत किनारमा परेको छ । 

रिपोर्टमा भारतको जटिल तथा छिन्नभिन्न राष्ट्रिय राजनीतिले गर्दा खुला व्यापार र विदेशी लगानीको प्रतिरोध गरिने उल्लेख छ । हिन्दू राष्ट्रवादले मुसलमान र अन्य अल्पसंख्यक धार्मिक समूहको अधिकार कमजोर बनाएको उल्लेख गरिएको छ । 

लोकतान्त्रिक देशहरू डी१० समूहमा भारतलाई संलग्न गर्नुको तुक नरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्