
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् ।
पार्टीले सरकारका काममा अवरोध गर्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै प्रचण्डले त्यस्तो एक मात्र उदाहरण देखाउन चुनौती दिएका हुन् ।
प्रचण्ड-नेपाल समूहको नेकपाको काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने– 'सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु ।'
उनले पार्टीले काम गर्न दिएन भनेर प्रधानमन्त्री ओलीले दिउँसै रात पार्न खोजेको आरोप लगाए ।
'यो झुटो कुरा हो । दुनियाँलाई आँखामा छारो हाल्ने, दिउँसै रात पार्ने कुरा हो,' प्रचण्डले भने, 'यो त एउटा जोक्करले मात्र गर्ने कुरा हो ।'
बरु पार्टीले राम्रो काम गर्नुस् भन्दा ओलीले उल्टोउल्टो काम गरेको उनको आरोप थियो ।