
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई दोस्रोपटक महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।
अघिल्लो साता अमेरिकी संसद् भवनमा गरिएको आक्रमण ट्रम्पले भड्काएकाले नै भएको निष्कर्ष संसद्ले निकालेको छ ।
हाउसमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो ।
अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि महाअभियोग लगाइएको यो चौथो अवसर हो । तर एक कार्यकालमै दोस्रोपटक महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।
ट्रम्पको रिपब्लिकन पार्टीका १० जना सांसदले पनि महाअभियोगको पक्षमा मतदान गरेका थिए । वायोमिङबाट सांसद रहेकी लिज चेनीले विद्रोह भड्काउनका लागि ट्रम्पले आह्वान गरेको भन्दै डेमोक्रेटहरूसँग मिलेर महाअभियोगको पक्षमा मतदान गरिन् ।
तल्लो सदनले आफूमाथि महाअभियोग लगाएपछि ट्रम्पले एक भिडियो बयान जारी गर्दै सबैलाई शान्त रहन आग्रह गरे । आफूलाई सिक्रेट सर्भिसले नयाँ दंगा हुनसक्ने बताएको जानकारी पनि उनले दिए । ट्रम्पले महाअभियोगको बारेमा केही पनि उल्लेख गरेनन् ।
राष्ट्रपति–निर्वाचित जो बाइडनले महाअभियोगका साथसाथै अन्य संवैधानिक दायित्व पनि सिनेटले पूरा गर्ने विश्वास लिएका छन् ।
महाअभियोग पारित हुँदैमा ट्रम्प पदमुक्त हुँदैनन् । सिनेटका मेजोरिटी लीडर मिच मककोनेलले सिनेटको बैठक जनवरी १९ अघि शुरू गर्ने छैनन् । यसको अर्थ हुन्छ, ट्रम्पको पदावधि सकिएपछि मात्र उनीविरुद्ध सिनेटमा महाअभियोग प्रक्रिया शुरू हुनेछ ।
पदावधि सकिएका राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन मिल्छ जसलाई लेट इम्पीचमेन्ट भन्छन् । महाअभियोग पारित हुन सिनेटमा ६७ मत आवश्यक हुन्छन् तर डेमोक्रेटहसँग ५० सीट मात्र छ । रिपब्लिकनहरूले ट्रम्पको विपक्षमा मत दिने सम्भावना न्यून छ ।