नेकपा ओली समूहको अनौपचारिक बैठकले घोषित मितिमै निर्वाचन गराउने विषयमा पार्टी एकजुट भएर लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीवार अपराह्न बालुवाटारमा नेकपाको ओली पक्षीय स्थायी कमिटी सदस्यहरू बैठकमा उपस्थित थिए ।
अनौपचारिक बैठकमा सहभागी प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले मेचीदेखि महाकालीसम्म पार्टीले गरेको प्रदर्शन र त्यसले ल्याएको लहरलाई निर्वाचनसम्म कायमै राख्नुपर्ने निष्कर्ष निकालिएको बताए ।
नेम्वाङले लोकान्तरसँग भने, ‘अहिले देशैभरि जसरी वेभ आएको छ, त्यसलाई निर्वाचन मितिसम्म कायमै राख्ने निष्कर्ष निकालिएको छ ।’
उनले पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको पनि समीक्षा भएको बताए ।
‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दा र अन्य विषयमा ब्रिफिङ गर्नुभयो,’ नेम्वाङले भने, ‘वैशाख १७ र २७ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर आधार तयार गर्दै अघि बढ्नुपर्ने निर्देशन उहाँले दिनुभएको छ ।’
बिहीवारको अनौपचारिक बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा सोचेभन्दा बढी लहर आइरहेको बारेमा चर्चा भएको थियो ।
ओलीपक्षका एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरू उपस्थित भेलामा ओलीले सबैलाई निर्वाचन केन्द्रित भएर अघि बढ्न निर्देशन दिएका थिए ।