
चिनियाँ सैनिकहरूले ताइवान नजिकको समुद्रमा लाइभ फायर अभ्यासका क्रममा आक्रमण गरेको र तारोमा प्रहार गरेको भिडियो चीनको सरकारी टीभीले सार्वजनिक गरेको छ ।
नाटकीय भिडियोमा चिनियाँ जनमुक्ति सेनाले चीनको फुजियान प्रान्तको नामरहित सानो टापुलाई नियन्त्रणमा लिने प्रयास गरेको देखिन्छ । उक्त प्रान्तबाट ताइवान देखिन्छ ।
चीनका राष्ट्रपति सी चिनफिङले सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन भनेपछि यो भिडियो सार्वजनिक गरिएको हो ।
ताइवानको सार्वभौमसत्ताका विषयमा चीन र अमेरिकाबीच राजनीतिक तनावका बीच यो अभ्यास गरिएको हो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाका दूतले ताइवानकी राष्ट्रपति त्साई इङ–वेनसँग बिहीवार भर्चुअल कुराकानी गर्दै ताइवानलाई अमेरिकाले सधैं साथ दिने बताएका थिए ।
लगत्तै बेइजिङले आक्रोशित प्रतिक्रिया दिँदै एक चीन नीतिलाई चुनौती दिने प्रयासले समर्थन नपाउने र त्यो विफल हुने बताएको थियो ।