अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्प तथा ज्वाइँ ज्यारेड कशनरले करदाताको एक लाख डलरभन्दा बढी रकम बेफ्वाँकमा उडाएको खुलासा भएको छ ।
वाशिङटन डीसीस्थित कालोरामा टोलमा उनीहरू महिनाको १५ हजार डलर तिरेर एउटा घरमा बसेका थिए ।
द वाशिङटन पोस्टले उनीहरूका छिमेकी र कानून कार्यान्वयन अधिकारीहरूलाई उद्धृत गर्दै बिहीवार दिएको खबरअनुसार, इभान्का र ज्यारेडले आफ्ना सुरक्षाकर्मीहरूलाई घरको शौचालय प्रयोग गर्न दिएका थिएनन् । उनीहरूको घरमा ६ वटा शौचालय छ ।
आफ्नो घरको शौचालय प्रयोग गर्न नदिएर उनीहरूले अर्को एक ठाउँ भाडामा लिएर सुरक्षाकर्मीहरूलाई मलमूत्र त्याग्न लगाएको र भाडाका लागि एक लाख डलर खर्च गरेको पाइएको छ ।
‘उनीहरू आफूलाई राजा महाराजा जस्तो ठान्थे,’ सडकपारिकी छिमेकी डायन ब्रुसले भनिन् । ‘उनीहरूले सुरक्षाकर्मीलाई दिसा गर्ने भाँडो उपलब्ध गराएका थिए । त्यो भाँडो राखिएको सडक किनारमा हामीलाई हिँड्न पनि दिँदैनथिए । त्यसपछि टोलभरिका मानिसले अब सहन सकिँदैन भने ।’
पछि ज्यारेड र इभान्काले महिनाको तीन हजार डलर तिरेर दिसापिसाब गर्ने ठाउँ भाडामा लिए । भाडामा लिनुअघि सुरक्षाकर्मीलाई पूर्व राष्ट्रपति बाराक ओबामाको घरको शौचालय प्रयोग गर्न बाध्य तुल्याइएको थियो । उनीहरू अलि पर रहेको उपराष्ट्रपति माइक पेन्सको घर र अन्य घरहरूमा गएर पनि दिसापिसाब गर्थे ।
ट्रम्पको राष्ट्रपति कार्यकाल समाप्त भएपछि ज्यारेड र इभान्का उनीसँगै फ्लोरिडास्थित घरमा बस्नेछन् ।