
विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।
गत वर्षमात्रै सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाले हिउँदयाममा हालसम्म कोही नपुगेको पाकिस्तानको खतरनाक मानिने केटू हिमालको चुचुरोमा चढेर फेरि विश्वको ध्यान खिचेका छन् ।
कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै म्याग्दीका पुर्जासहित १० नेपाली आरोही शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका हुन् । ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाको इन्स्टाग्राममा लेखिएको छ, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’
शनिबार राति १ बजे चौथो तथा अन्तिम शिविरबाट डोरीको सहायताले बाटो बनाउँदै उनीहरू सबै बोतल अक्सिजनको सहायतामा शिखरमा पुगेका हुन् । यस आरोहण दलका नेतामध्येका छाङ दावा शेर्पाका अनुसार सबै जना करिब ६ घण्टापछि राति १० बजे चौथो शिविरमा सकुशल फर्केका छन् । पुर्जासहित सफल आरोहण गर्नेमा तीनवटा फरक–फरक आरोहण दलका नेपाली सदस्यहरू छन् । जसमा पुर्जाको आरोहण दलका मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा छन् । अर्को नेपाली आरोहण दलका तर्फबाट मिङमा जी, दावा तेन्जिीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहण दलबाट सोना शेर्पा छन् ।
चुचुरोमा पुग्नुअघि तीनवटै आरोहण दलका सबै नेपालीले चुचुरोमुनि एक–अर्काका लागि १० मिनेट प्रतीक्षा गर्दै समूह बनाएर नेपाली राष्ट्रिय गान गाउँदै चुचुरोतर्फ पाइला चालेको पुर्जाको इन्स्टाग्राममा लेखिएको छ । त्यसमा यो सफलतालाई एक विशेष पल भनिएको छ । उनले पोस्ट गरेको स्टाटसलाई २ घण्टामा ५० हजार ७ सय बढीले लाइक गर्दै कमेन्टमा असम्भवलाई सम्भव बनाइएकामा प्रशंसा गरेका छन् । सेभेन समिटका अनुसार ३४ वर्षयताको हिउँदयाममा केटू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू केटू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।
यसै सिजनमा नेपालीसँगै आरोहण अभ्यासका लागि त्यहाँ रहेका स्पेनिस पर्वतारोही सेर्गी मिनगोटको शनिबार निधन भएको छ । पहिलो शिविरबाट आधारशिविरमा फर्किंदै गर्दा उनको निधन भएको हो । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार स्पेनिस पर्वतारोही सेर्गी यसै कम्पनीबाट त्यहाँ पुगेका थिए । केटू आरोहणमा प्रत्येक चार जनामा एक जनाको मृत्यु हुने गरेको विगतका घटनाको तथ्यांक छ । कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।