
प्रहरीले सर्वसाधारणलाई हैरानी दिने तथा प्रहरीसमेतलाई जाइलाग्ने १६ जना यौनिक तथा अल्पसंख्यकलाई पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
उनीहरुले कार्यस्थलमा खटिएका प्रहरी टोलीलाई हातपात गरेका र टेवलका सिसा फुटाएका थिए । त्यसपछि फुटेको सिसा हातमा बोकेर प्रहरीलाई र आफैँसमेतलाई हानेर चोट पु-याएको महानगरीय प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरुले प्रहरी प्रभागमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट टोली नै जानु परेको थियो ।