०२ असार २०८३, मंगलबार
नेकपा जुटाउने पहल

नेकपा जोड्ने 'वामदेव रसायन' – फुटेको पार्टी जुटाउन सफल होला त 'एकता अभियान' ?[भिडियो]

नेकपा जोड्ने 'वामदेव रसायन' – फुटेको पार्टी जुटाउन सफल होला त 'एकता अभियान' ?[भिडियो]

विभाजन अघिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राजनीतिकरूपमा विभाजित नेकपालाई पुनः एकीकरण गर्न भनेर 'राष्ट्रिय एकता अभियान' घोषणा गरेका छन् ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच अभियान घोषणा गर्दै गौतमले आफ्नै नेतृत्वमा नेकपाका दुवै समूह पुनः एकीकरण हुने दाबी गरे ।

गौतमले १४ पृष्ठको अवधारणा पत्र समेत सार्वजनिक गरेका छन् । पत्रमा विभाजित नेकपाका दुवै समूहलाई पार्टी एकीकरणका लागि अनुरोध र आग्रह गर्न एकता पक्षधर नेता तथा कार्यकर्तालाई अपिल गरिएको छ ।

भेलामा उपस्थित आफूनिकट करीब २ सय नेता/कार्यकर्तालाई सम्बोधन गर्दै गौतमले आफ्नो शक्तिले नेकपाको कुनै एक समूहलाई अर्को समूहमा विलय गराइदिने क्षमता राख्ने समेत दाबी गरे ।

गौतमको यो अभियानलाई कतिपयले पार्टी एकताको पक्षमा गरेको पहलका रूपमा बुझेका छन् भने कतिपयले तेस्रो पार्टीको अभ्यास पनि भनेका छन् ।

गौतमको संगठनात्मक संरचना

एकताका लागि गौतमले तयार पारेको अवधारणापत्रमा अभियान सञ्चालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने उल्लेख गरिएको छ ।

केन्द्रीय समितिको संख्या अधिकतम ६ सय ५१ रहने छन् भने १७५ जना कार्यसम्पादन समितिमा रहनेछन् ।

दैनिक कामका लागि आवश्यक सचिवालय निर्माण गरिने गौतमले जानकारी दिएका छन् ।

यससँगै गौतमले प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति हुने, प्रत्येक जिल्लामा पालिकासमेतको प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गर्ने घोषणासमेत गरेका छन् ।

त्यस्तै पालिकामा वडाहरूको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गर्ने गौतमको योजना छ । पार्टी एकता अभियान भने पनि गौतमले पार्टीकै संरचनामा संगठन निर्माण गर्ने परिकल्पना गरेका छन् ।

उनले अर्को व्यवस्था नभएसम्म अभियानका सबै समिति र सदस्यहरू उनले जारी गरेको अवधारणापत्रको व्यवस्था अनुसार परिचालित हुने समेत जनाएका छन् ।

गौतमले तय गरेका ६ आचारसंहिता

गौतमले राजनीतिक रूपमा विभाजित आफ्नो पार्टीको एकताका लागि ६ बुँदे आचारसंहिता प्रस्तुत गरेका छन् ।

यी आचारसंहिताहरूमा गौतमले पार्टीका दुवै समूहका नेता तथा कार्यकर्तालाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन र गालीगलौज नगर्न आग्रह गरेका छन् ।

नेकपा अझै पनि एकढिक्का राख्ने उद्देश्यका साथ बुधवार एकताको राष्ट्रिय अभियान घोषणा गरेका गौतमले ६ बुँदे आचारसंहिता प्रस्तुत गर्दै दुवै समूहलाई व्यक्तिगत टिप्पणी नगर्न समेत आग्रह गरेका हुन् ।

'पार्टी एकता अभियानका हामी कमरेडहरूले पार्टी एकता हुन सकेन र उपरोक्त आरोप–प्रत्यारोप रोकिएन भने अझ निम्नस्तरका दुर्घटनामा जानसक्ने खतरा महशुस गरिरहेका छौं,' आफ्नो अवधारणापत्रमा गौतमले भनेका छन्, 'आज हामी मिल्न सकेनौं, यसो भन्दैमा जीवन रहँदासम्म मिल्ने छैनौं भन्न सकिन्छ र ?'

उनले प्रस्तुत गरेका छ बुँदे आचारसंहिता यी हुन् –

निर्वाचनभन्दा पहिले र निर्वाचनपछिको अवधिमा आयोजना गरिने बैठककोणसभाजनसभा, आमसभाहरूमा जनतासमक्ष आत्मालोचक बनीप्रस्तुत हुने ।

अन्तरपार्टी संघर्षका समयमा प्रस्तुत भएका दुवैपक्षका विषयलाई मर्यादित भाषामा समीक्षात्मक शैलीमा राख्ने।

विभिन्न कारणले हामी फुटे पनि नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा व्यक्त गर्ने ।

अन्य प्रतिस्पर्धी पार्टीहरूको पनि निर्वाचन अवधिभर स्वस्थ आलोचना मात्र गर्ने ।

व्यक्तिमाथि टिप्पणी वा आलोचना गर्ने नाममा तिनका निजी मामिलाजातीयभाषिकवर्गीयलिंगीय  समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने ।

यस किसिमको आचारसहिंता पालना गर्न अन्य सबै राजनीतिक पार्टीहरूलाई पनि अनुरोध गर्ने ।

नेकपालाई एकजुट बनाउने गौतमको त्यो आत्मविश्वास !

गौतमले सम्बोधनका क्रममा पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरू ओली र प्रचण्डलाई मिलाउन अधिकतम\ प्रयास गर्ने जिकिर गरे । उनले दुईतिर फर्किएका अध्यक्षहरूलाई एकैतिर फर्काइदिने तागत आफूसँग भएको दाबीसमेत गरे ।

‘अहिले उहाँहरू दुईतिर फर्कनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु,' सम्बोधनका क्रममा गौतमले भने, 'केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ ।'

उनले आफूले छुट्टै राजनीतिक दल नखोल्ने दाबीसमेत गरेका छन् ।

'ओली समूहमा ओलीबाहेक सबै एकताका पक्षमा छन् । प्रचण्ड-नेपाल समूहमा पनि अधिकांश नेता एकताका पक्षमा छन् । धेरै नेताहरूले सर्वोच्चको आदेश आएपछि आफूहरू एकताको पक्षमा लाग्ने भनेर मलाई फोन गरिरहनु भएको छ । त्यसैले हाम्रो प्रयास सार्थक हुन्छ,' गौतमले भने ।

ओली समूहका १ सय केन्द्रीय सदस्यको गौतमलाई साथ

ओली समूहमा लागेर केन्द्रीय कमिटी सदस्य भएका १ सय जनाले गौतमलाई साथ दिएको उनीनिकट स्रोतको दाबी छ ।

'निर्वाचन आयोगले अवैध भनेका ओली समूहका १ सय केन्द्रीय सदस्यहरू यता हुनुहुन्छ,' स्रोतले भन्यो, 'प्रचण्ड-नेपाल समूहका पनि धेरै कमरेडहरू यता हुनुहुन्छ । खुल्न नसकेका अझै धेरै कमरेडहरू हुनुहुन्छ ।'

तर एकीकृत पार्टीबाट केन्द्रीय सदस्य हरि पराजुलीले गौतमलाई खुलेरै साथ दिएका छन् ।

बुधवारको कार्यक्रममा उनले स्वागत मन्तव्यसमेत दिएका थिए ।

आजको कार्यक्रममा केन्द्रीय सदस्य पराजुली, प्रा.डा. हिराबहादुर महर्जन, प्रा.डा. प्रकाशमान श्रेष्ठ, बाबुराम थापा, तुलसी थापा, रमेश महर्जन, भोजराज भट्टराई, डीबी कार्कीलगायत सहभागी थिए ।

गौतमले आफू कुनै पनि पक्षमा नभएको भनेर बारम्बार स्पष्टीकरण दिने गरेका छन् ।

केही दिनअघि जुन समूहले अध्यक्ष दिन्छ, गौतम त्यतै जाने भन्दै समाचारहरू सार्वजनिक भएका थिए ।

उनले उक्त समाचारको पनि खण्डन गरेका छन् ।

जुट्ला त नेकपा?

गौतमले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई पार्टी जोड्न सकिने कडीका रूपमा लिएका छन् । आयोगले केही दिनअघि नेकपा पूर्ववत् अवस्थामा रहेको निर्णय गरिदिएको थियो । यद्यपि दुवै पक्षले आफू आधिकारिक नेकपा रहेको दाबी गर्न छाडेका छैनन् ।

'यदि संसद् पुन:स्थापना भयो भने हामीसँग चुनावअघि २ वर्षको समय रहनेछ, त्यतिबेलासम्म फुटेको नेकपालाई जुटाउने हाम्रो अभियान सफल हुनेछ,' गौतमले भने ।

सम्बोधनका क्रममा गौतमले पटक-पटक २०५६ सालमा विभाजित एमालेको स्मरण गरेका थिए ।

'फुटेर कहीँ पुगिन्न, ध्वंस हुन्छ भन्ने मैले त्यतिबेलै जानेको हो,' गौतमले भने, 'अहिले पनि नेकपाका दुवै समूहका नेताहरू आएर आफूतिर लाग्नुस् भनिरहेका छन् । मैले म एकताको पक्षपाति हो, कतै लाग्दिन भनेर भनिदिएको छु । दुई खुट्टाले उभिन सक्ने बेलासम्म म नेकपाको एकता अभियानमा लागिरहनेछु ।'

गौतमको अभिव्यक्तिमा पार्टी एकजुट गराउने आत्मविश्वास त देखिन्छ तर ओली र प्रचण्डबीचको एकता भने त्यति सहज देखिएको छैन ।

कसैलाई कारवाही नगरेकाले आफूहरूले मिल्ने ठाउँ राखेको ओली पक्षले बताउने गरेको छ भने ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने प्रचण्ड-नेपाल समूहका नेताहरूको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्