गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्र नचाहने शक्तिहरूले लोकतन्त्रलाई खुइल्याउन सक्रिय भइरहेको बताएका छन् ।
बेंसीशहरमा बिहीवार आयोजित नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको १४ औं साधारण सभामा मुख्यमन्त्री गुरुङले प्रतिपक्ष, आन्तरिक पक्ष र सबैतर्फबाट स्थिर सरकार कमजोर बनाएर लोकतन्त्र खुइल्याउन लागिरहेका बताए ।
उनले पत्रकारलाई सत्यतथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आग्रह गर्दै नेपालमा स्थिरता सबैको मिसन हुनुपर्ने बताए । उनले कांग्रेस र जसपा मिलेर सरकार बनाउन सक्ने अवस्था थिएन त्यसैले कम्युनिस्ट पार्टी फुटाउने खेलमा बाहिरी शक्ति लागेको बताए ।
गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारी लगायतले पत्रकार विभिन्न समस्यामा परी रहे पनि राज्यले विशेष भूमिका निर्वाह गर्न नसकेको धारणा व्यक्त गरे ।